माओवादीले चल्न दिएन प्रदेशसभा बैठक

आइतबार, २० असार २०७८

विराटनगर– प्रदेश–१ प्रदेशसभाको बैठक नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेको छ । आइतबार बसेको १६औं प्रदेशसभा बैठक माओवादी केन्द्रले अवरुद्ध गरेको हो । माओवादी केन्द्रले बैठक अवरुद्ध गरेपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

बजेटमाथिको छलफल चलिरहेको प्रदेशसभा बैठकमा गत आइतबार प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ गृह जिल्ला ओखलढुङ्गाका माओवादी केन्द्रका सांसद मोहन खड्कामाथि व्यक्तिगत रुपमा खनिएका थिए ।

संसदीय मान्यता विपरित सांसदमाथि खदिएका मन्त्रीले माफी माग्नुपर्ने र उनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु पर्ने माग छ । तर सत्ता पक्ष तयार नहुँदा संसदमा अवरोध कायम रहेको माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

संसद अवरुद्ध भएपछि असार १५ गते सभामुख प्रदिपकुमार भण्डारीले छलफलका लागि भन्दै पाँच दिनका लागि बैठक सारेका थिए । तर यो पाँच दिनमा दुई पटक छलफल भए पनि सहमति भएन ।

छलफलमा सत्ता पक्ष माफी माग्न र अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन नमानेपछि बैठक अवरुद्ध गरेको माओवादी केन्द्र नेता आङ्बोले बताए ।
जारी अधिवेशनको १३ वटा बैठकमा प्रतिपक्षीले अवरोध गरेका थिएनन् । तर मन्त्रीको अभिव्यक्तिपछि लगातार तीनवटा बैठक अवरुद्ध हुँदा बजेटमाथिको छलफल लम्बिएको छ ।

मन्त्रीले माफी मागेपछि मात्रै संसदको कामकारवाही अघि बढ्ने आङ्बोले बताए । आइतबार संसद अवरुद्ध भएपछि मुख्यमन्त्री शेरधन राईले सर्वपक्षीय छलफल गरेका थिए । छलफलमा कुनै निष्कर्ष ननिस्किएको आङ्बोले बताए ।