प्रधानमन्त्रीको बदनाम गर्न भारतीयलाई नागरिकता, अन्सन्धान गर्दा खुल्यो गम्भीर रहस्य

सोमबार, २१ असार २०७८

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको बदनाम गर्न षड्यन्त्र पूर्वक एक भारतीय नागरिकलाई नागरिकता दिएको पाइएको छ । स्थानीय सरकार, इलाका प्रशासन र विपक्ष गठबन्धनको षड्यन्त्रका कारण प्रधानमन्त्रीलाई बदनाम गर्न भारतीय नागरिकलाई नागरिकता दिएको खुलेको हो ।

दाङका एक जना व्यक्तिले ज्वाइँलाई छोरा भन्दै नागरिकता दिलाएपछि यो रहस्य खुलेको हो । राजपुर गाउँपालिका वडा नम्बर ७ का भीमबहादुर कामीले ज्वाइँ अर्जुन विकलाई छोरा बनाएर नागरिकता दिलाएका हुन् ।

इलाका प्रशासन कार्यालय लमहीले अर्जुनको नाममा २०७५ असोज ४ गते नागरिकता जारी गरेको थियो। नागरिकता जारी गर्ने इलाका प्रशासन प्रमुख प्रेम खवास हुन्। नागरिकतामा उनकै हस्ताक्षर छ।

भीमबहादुरले आफ्ना छोरा लिलाराम विकको नामबाट ज्वाइँलाई नागरिकता दिलाएको अनुसन्धानबाट खुलेको छ। लिलारामको मृत्यु भइसकेको छ। लिलाराम भीमबहादुरका माइली श्रीमतीबाट जन्मेका छोरा थिए। उनको १५ वर्षको उमेरमै मृत्यु भएको थियो।

अभिलेखअनुसार लिलारामको जन्म २०५० सालमा भएको देखिन्छ। जन्मदर्तामा यही मिति छ। मृत्यु भइसकेका लिलारामको जन्मदर्ता प्रयोग गरेर भीमबहादुरले ज्वाइँ अर्जुनलाई नागरिकता दिलाएको खुलेको छ। यसमा वडाअध्यक्ष र स्थानीय राजनीतिक दलका कार्यकर्ताको भुमिका पनि रहेको छ ।

कीर्ते काजगात तयार पारेर मृत्यु भइसकेका व्यक्तिका नाममा नागरिकता दिलाउन सिफारिस गरेको भन्दै राजुपर गाउँपालिका वडा नम्बर ७ का ७२ वर्षीय वडाध्यक्ष भीमबहादुर खड्का पनि अनुसन्धानका लागि तानिएका छन् । वडाध्यक्ष खड्कासहित भीमबहादुर, उनकी छोरी सुशीलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

भीमबहादुर र उनकी छोरी सुशीला वडा प्रहरी कार्यालय लमहीको थुनुवा कक्षमा छन् भने वडाध्यक्ष खड्का भने अस्वस्थ्य भएको भन्दै सोमबार हाजिर हुने सर्तमा घर गएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले बताए।

‘वडाध्यक्षको स्वास्थ्य अवस्था र उमेरलाई पनि ख्याल गर्दै सोमबार हाजिर हुन आउने सर्तमा परिवारको जिम्मा लगाइएको थियो,’ उनले भने। ‘वडाध्यक्षमाथि मृत्यु भइसकेका व्यक्तिका नाममा नागरिकताका लागि सिफारिस गरेको आरोप छ।’

स्थानीय एमालेका कायर्एकताको उजुरीपछि भीमबहादुरले छोराका नाममा ज्वाइँलाई नागरिकता दिएको रहस्य बाहिरिएको थियो। प्रहरीका अनुसार मृत्यु भइसकेका व्यक्तिको नाममा नागरिकता लिएका अर्जुन साउदी अरबमा छन्। छोरीको आग्रहमा बाबु भीमबहादुरले मृत्यु भइसकेका छोराको जन्मदर्ताका आधारमा ज्वाइँलाई नागरिकता दिलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी बताउँछ।

अर्जुनको वास्तविक घर कहाँ भन्ने पनि खुलेको छैन। तर श्रीमती सुशीलाले चितवन भन्ने गरेकी छन्। तर स्थानीयले भने उनको घर भारतको विहारमा रहेको बताउँछन् । श्रीमती सुशीला हालसम्म अर्जुनको घरमा गएकी छैनन् । अर्जुन नेपाली नागरिक हुन् कि होइनन् भन्ने पनि अनुसन्धानकै क्रममा रहेको प्रहरी बताउँछ।

यसरी ओली सरकारका पालामा नागरिकता दिएको भन्दै बदनाम गराउनका लागि एमाले विरोधीहरुले षड्यन्त्रपूर्वक गैरकानुनी कार्य गरेको स्थानीय एमाले नेता कार्यकर्ताको भनाई छ ।