सुजिता काण्डले नयाँ रुप लियो, भेटियो गजवको प्रमाण

सोमबार, २१ असार २०७८

काठमाडौं – चितवनमा हराएकी २३ वर्षीया युवती सुजिता भण्डारीबारेको नयाँ तथ्य फेला परेको छ । अनुसन्धान अधिकृतहरुका अनुसार उनले विष सेवन गरेको हुनसक्ने तथ्य फेला परेको छ ।

अनुसन्धान अधिकृतहरुले उनले विष सेवन गर्नुको पछाडि प्रेम सम्बन्धको विषय हुनसक्ने अनुमान गरेका छन् । तर प्रहरीले यी सबै आशंकालाई प्रमाणले पुष्टि गर्नुपर्नेछ र आत्महत्या देखिए दुरुत्साहनको मुद्दा चल्न सक्नेछ ।

तर यसको निर्क्यौल भने भएको छैन् । निर्क्यौल गर्न पोष्टमार्टम भरतपुर अस्पतालमा गर्ने कि काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गर्ने भन्ने विषय टुंगो लागेको छैन । ९ दिनअघि घरबाट निस्किएकी थिइन् सजिता । दिदी कविताका अनुसार अघिल्लो दिन साँझ उनले सब्जी लिन साथीको घर जाने सुनाएकी थिइन् । बिहान कविता उठ्दा बहिनी घरमा थिइनन् । उनले सोचिन्, ‘सुजिता सब्जी लिन गइछे ।’

तर १० बजिसक्दा पनि सुजिता फर्किनन् । ‘खाना पाकेपछि कतिबेला आउने भनेर सोध्नलाई मैले पटकपटक फोन गरें,’ कविता भन्छिन्, ‘रिङ गयो तर उठेन ।’ खेतमा गएका बुबाआमा फर्किएपछि उनीहरुले पनि सुजिताको सोधीखोजी गरे । कविताले साथीकहाँ गएको भनेपछि फर्किलिन् भन्ने सोचे ।

‘बिहान ५ बजे खेतमा जान उठेका बेला हेर्दा छोरी सुतिरहेकी थिइन्,’ सुजिताका बुबा भन्छन्, ‘बहिनी ६ बजे उठ्दा चाहिं उनी थिइनन् ।’ यही बयानको आधारमा प्रहरीले सुजिता साढे ५ देखि सवा ६ बजेको अवधिमा घरबाट निस्किएको हुनसक्ने अनुमान गरेको छ । दिउँसो १२ बजेतिर कविताले मोबाइल हेर्दा बहिनीको ‘मिस कल’ आएको थियो । उनले फोन फर्काइन्, सुजिताले हतास मनस्थितिमा उठाइन् । ‘मलाई आँखामा पट्टी बाँधेर गाडीमा हालेर राखेका छन् । म अपहरणमा परें ।’

बहिनीको कुरा सुन्ने बित्तिकै अतालिएकी उनले के गर्ने कसो गर्ने भेउ पाउन सकिनन् । बहिनीले फेरि थपिन्, ‘सिमरा चोकमा एउटा ट्याक्सी आयो, सौराहा जाने बाटो कता हो भनेर सोध्यो । थाहा छैन भनेपछि आँखामा के लगाइदिएर गाडीमा हाले ।’ ‘कता लैजाँदैछन् ?’ दिदीले एसएमएस गरिन् । कविताको एनटीसी नम्बरमा १२ः४४ र १२ः४२ मा एसएमएसको जवाफ आएको छ, ‘पूर्वतिर ।’ त्यसपछि सम्पर्क टुट्यो । उनले बुबाआमालाई खबर गरिन्, प्रहरीलाई पनि सुजिता अपहरणमा परेको भनियो ।

कविताले भनेअनुसार सौराहा चोक जाने बाटो थाहा छैन भनेपछि बहिनीलाई ‘तलाईं थाहा नभए कसलाई हुन्छ’ भन्दै गाडीमा हालिएको थियो । यति सुनाइनसक्दै फोन काटियो । उनले फेरि सम्पर्क गर्ने प्रयास गरिन् । तर ‘अनरिचेबल’ आयो । प्राविधिक पाटोको विश्लेषण गरिरहेको प्रहरीले सुजिताले दिदीलाई दिएको जानकारीको एउटा विषय अमिल्दो पायो । उनले एसएमएसमा ‘पूर्वतिर’ लगेको भनेकी थिइन् । तर बीटीएस टावरको विश्लेषणले उनको मोबाइलमा चितवनकै कुमरोजको टावर टिपिरहेको भेटिएको थियो

प्रहरीले उनी हराएको ९ औं दिनसम्म पनि सुजिता अपहरित भएको पुष्टि गर्ने अन्य आधार भेटेको थिएन । त्यसैले उनी कोही युवकसँग गएको हो कि भन्ने आशंका पनि गरिएको थियो । त्यही आशंकामा प्रहरीले स्नातक चौथो वर्षमा अध्ययरत सुजिताका साथीहरुसँग पनि सोधपुछ अघि बढाइरहेको थियो । प्रहरीमाथि दबाब बढ्दै गएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीलाई पनि चितवन खटायो । तर अनुसन्धानमा उपलब्धी हात नलागिरहेका बेला आइतबार दिउँसो २ बजे राप्ती नगरपालिका–३ को ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा एक युवतीको शव भेटियो ।

च्याउ खोज्न गएका स्थानीयले वनको बीचको झ्याङमा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार शव भेटिएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो, शव अपहरणमा परेकी भनिएकी सुजिताको हुनसक्ने आशंका गरियो । घरबाट करिब ३ किलोमिटरको दूरीमा रहेको जंगलमा शव भेटिएकाले पनि प्रहरीले शव सुजिताको हुनसक्ने आशंका गरेको थियो । नभन्दै साँझ परिवारका सदस्यले वनमा भेटिएको शव सुजिताकै भनेर सनाखत गरेको एसपी अधिकारी बताउँछन् ।

राति ढिला भइसकेकाले प्रहरीले घटनास्थल शिल गर्‍यो । बिहान घटनास्थल ‘सर्च’ गर्दा धानमा हाल्ने विषादीको बट्टासमेत बरामद भयो । घटनास्थलमा ‘स्प्राइट’को बोतल पनि भेटिएको छ, त्यहाँ हालेर विषसेवन गरेको हुनसक्ने प्रहरी आशंका छ । शवमा अन्य बाहिरी चोटपटक नदेखिएको प्रहरी बताउँछ । एक अनुसन्धान अधिकृतका अनुसार उनले बोक्ने झोलासमेत घटनास्थल छेउमै भेटिएको छ । सुजिताको मोबाइल हालसम्म भेटिएको छैन, तर ब्याट्री चाहिं फेला परेको छ । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘मोबाइल खोलामा फालेको हो वा कहाँ गयो भन्नेबारे अनुसन्धान गरिरहेका छौं ।’

स्थानीयका अनुसार जंगलको बीचमा गाडी जाने ठाउँ छैन । प्रहरीका अनुसार कसैलाई त्यहाँसम्म लैजानु परे बोकेर लानुको विकल्प देखिँदैन । त्यसैले सुजिता आफैं घटनास्थलसम्म पुगेको हो कि भन्ने प्रहरी आशंका छ । यदि आत्महत्या नै गरेको मान्ने हो भने कारण के हुनसक्छ ?