चमेली वनमा एक पुरुषको शव फेला

सोमबार, २१ असार २०७८

भक्तपुर — सूर्यविनायक नगरपालिका–१ सिरुटार चमेली वनमा एक पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार नामथर, वतन नखुलेको अन्दाजी ४०/४२ वर्षको जस्तो देखिने हरियो ज्याकेट, सुन्तला रंगको हाफप्यान्ट र कालो जुत्ता लगाएको, बायाँ हातमा मेडिकलको ब्यान्डेज बाँधेको पुरुष मृत भेटिएका हुन् ।

पुरुषको घाँटी र चिलाउनेको रुखको हाँगोमा टेलिफोन लाइनको तार बाँधेको र रुखको हाँगो भाँच्चिएर भुइँमा झरेको अवस्थामा आइतबार शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा ५/७ दिनअघि नै झुण्डिएर मृत्यु भएको हुनसक्ने र शव सड्न थालेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक थापाले बताए । मृतकको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाइएको छ ।