माधव नेपालले मलाई छोडेर गए राम्रौ हुन्थ्यो– प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी छाड्दैमा एमाले नदुब्लाउने बताएका छन् ।
आफुनिकट नेताहरुको अनौपचारिक छलफलमा अध्यक्ष ओलीले माधव नेपाल वा अरु कसैले छाडेर जाँदैमा नेकपा एमाले दुब्लाउने वा पार्टीको साइज घट्ने कल्पना समेत गर्न नसकिने बताए । उनले कोही कसैलाई माओवादीको प्रचण्डपथ प्यारो लागेको छ वा काँग्रेसको पछि लागेर एमाले ध्वस्त बनाउन सकिन्छ र आफुले ठुलो भाग खान पाईन्छ भन्ने लागेको भए त्यो सपना मात्र हुने चेतावनी समेत दिए ।
उनले माधव नेपालतर्फ संकेत गर्दै भने, ‘पार्टीको बैठकमा आउने हिम्मत नहुने, प्रधानमन्त्रीले बोलाउँदा बालुवाटार आउन सक्तिन भन्ने अनि नाथुराम गोड्से खोज्दै बुढानिलकण्ठ र प्रचण्डपथ भन्दै खुमलटार धाउनेलाई एमाले हूँ भन्न लाज हुनुपर्ने होईन रु’
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका आफुनिकट नेतालाई एमाले अध्यक्ष ओलीले अब माधव नेपालसँग पछि लागेर प्रचण्डपथमा हिँड्ने साथीहरुलाई छाडिदिनुहोस्, कसैको फोन उठाउन, भेटघाट गर्न पनि जरुरी छैन भनेर निर्देशन दिएको स्रोतको दाबी छ ।
उक्त अनौपचारिक भेलामा प्रधानमन्त्री ओलीले ‘एमाले कसरी ठुलो पार्टी बन्दैछ रु’ भन्ने बारेमा समेत खुलेरै नेताहरुलाई ब्रिफिङ गरेका थिए । जनयुद्धका कमाण्डर रामबहादुर थापासहित माओवादीको एउटा शक्ति एमालेमा आइसकेको, मधेशको ठुलो समूह एमालेमा जोडिन चाहेको, काँग्रेस, जसपा र राप्रपाभित्रका देशभक्त र राष्ट्रवादीहरु पनि बेलैमा एमाले नै हुनुपर्ने रहेछ भन्दै प्रवेश गर्न पाए हुन्थ्यो भन्ने खबर आफुकहाँ आइरहेको कुरा पनि ओलीले सुनाए ।
‘माधव कमरेडले छोडेर गए भने एमालेको भविष्य के हुने हो भन्ने तपाईहरुलाई चिन्ता होला, तर मलाई चाहिँ छाडेर गए राम्रै हुन्थ्यो भन्ने भइसक्यो’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले बताए ।