सुजिता मृत्यु प्रकरणः प्रहरीले यस्तो अनुमान गरेपछि बढ्यो आन्दोलन चर्किने खतरा !

बिहिबार, २४ असार २०७८

काठमाडौँ – चितवनकी सुजिता भण्डारीको मृत्यु प्रकरणले नयाँ मोड लिने संकेत देखिएको छ । प्रहरीले आत्महत्याको अनुमान गर्दै कुनै ठोस तथ्य बाहिर आउन नसक्दा स्थानीयमा आक्रोश झन आक्रोश बढेको हो ।

पीडित आफन्त र स्थानीयले आन्दोलन चर्काएपछि त्यसलाई निस्तेज पार्न निषेधाज्ञा (कर्फ्यु) नै लगाउनु परेको छ ।

असार ११ गते सम्पर्कविहीन भएकी सुजिताको शव स्थानीय ब्रम्हस्थानी सामुदायिक वनको झाडीमा ९ दिनपछि फेला परेको थियो ।

प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको आरोप स्थानीयले लगाइराख्दा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रकाश अधिकारीले आज (बिहीवार) पत्रकार सम्मेलन गरे ।

आन्दोलनलाई मत्थर पार्ने र स्थानीयको आरोपको जवाफ दिने उद्देश्यले प्रहरीले पत्रकार सम्मेलन गरेको देखिन्छ ।

‘आफन्त र स्थानीयले अनुसन्धान के भइरहेको छ, जानकारी दिनुपर्‍यो भन्नुभयो, त्यसैले पत्रकार सम्मेलन गरेका हौं,’ प्रहरी प्रमुख अधिकारीले भने, ‘अनुसन्धान भइरहेको छ ।

हराएपछि खोज्नका लागि प्रहरीलाई भन्दा पनि नमानेको र ९ दिनपछि मृत फेला परेपछि प्रहरीको हेलचेक्र्याइँले कारण मृत्यु भएको भन्दै स्थानीय र आफन्तले आन्दोलन गरिरहेका छन् ।

चितवन प्रशासनले हिजोदेखि आज बेलका ८ बजेसम्मको लागि कर्फ्यु लगाएको छ ।

स्थानीय पत्रिका चितवनको पोस्टका सम्पादक प्रकाश अर्यालका अनुसार प्रहरी प्रशासनले आफन्तहरूले आन्दोलन गर्छन्, भनेर कर्फ्यु लगाएको अनुमान लगाउन सकिने बताउँछन् ।

‘प्रहरीले घटनालाई बेवास्ता गरेकै कारण स्थानीय र आफन्तहरूले आन्दोलन शुरू गरेको मैले पाएको छु र त्यसैलाई रोक्नका लागि प्रहरीले कर्फ्यु लगाएको देखिन्छ,’ चितवन पोस्टका सम्पादक अर्यालले भने, ‘मैले पाएको सूचना अनुसार कर्फ्यु सकिएपछि फेरि आन्दोलन गर्ने तयारीमा स्थानीय छन् ।’

अघिल्लो रात सुजिता दिदी कविता र भाइ रिजनसँगै एउटै रूममा सुतेको र कसैलाई नभनी निस्किएको खुलेको प्रहरीले जनाएको छ ।

दिदीले दिउँसो ११ बजे ७ पटकसम्म बहिनीको फोन आएको बताएकी छन् ।

फोन चार्जमा भएका कारण आफूले उठाउन नसकेको र पछि फोन गर्दा आफूलाई ३ जनाले अपहरण गरेको बताएको कविताको दाबी छ ।

त्यसैलाई आधार मानेर प्रहरीले सुजिता अपहरण नपरेको बरु आफैँ आत्महत्या गरेको हुनसक्ने लख काटेको छ ।

एसएसपी कुँवरका अनुसार सुजिताको मोबाइलको कल डिटेल र उनले प्रयोग गर्ने सामाजिक सञ्जालहरूका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।