चीनबाट आयो ८ लाख डोज भेरोसेल, क–कसले पाउँछन् ?
काठमाडौं– नेपाल सरकारले चीनसँग खरिद गरेको कोरोविरुद्धको खोपको पहिलो खेप काठमाडौंमा अवतरण भएको छ । आज बिहान साढे ६ बजे नेपाल वायूसेवा निगमको विमानले ८ लाख डोज बोकेर त्रिभुवन विमानस्थलमा अवतरण भएको हो ।
चीनबाट खरिद गरेर ल्याइएको कोरोनाविरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो प्राथमिकता दिएर लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसपछि ५५ देखि ६० वर्ष उमेर समूहका लाई लगाउने योजना मन्त्रालयको छ ।
चीनको सिनोफार्म कम्पनीबाट सरकारले हालै ४० लाख डोज खरिदको सम्झौता गरेको छ । सो सम्झौता अनुसार पहिलो खेपमा आठ लाख डोज खोप शुक्रबार बिहान काठमाडौं आइपुगेको छ । यसपछि पनि नेपाल एयरलाइन्सको जहाजमार्फत् निरन्तर खोप ल्याइने सरकारको योजना छ ।
भण्डारण केन्द्रमा खोप पुर्याइसकेपछि जिल्ला–जिल्लामा खोप लगाउन सुरु गरिने सरकारको योजना छ ।
चिनियाँ भेरोसेल खोप दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सकिन्छ । नखोली राखिएको यो खोप दुई वर्षसम्म प्रयोग गर्न सकिन्छ । यदि सिल खोलेर खोप लगाउन सुरु गरियो भने छ घण्टाभित्र खोप दिइसक्नुपर्ने जानकारहरु बताउँछन् । भेरोसेल खोप दुई डोज लगाउनुपर्छ ।
अब प्रत्येक साता चरणबद्ध रुपमा नेपालमा चीनबाट खोप ओसारिने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले बताएको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोनाको खोप निरन्तर आउने बताएका थिए ।