माधव पक्षका नेताहरु आक्रोशित बनेपछि ओली पक्ष नरम, आजै होला त सहमति ?
काठमाडौँ – लगातार चार दिनेदेखि बस्दै आएको नेकपा एमाले कार्यदलको बैठक आज पनि साढे ११ बजेदेखि सिंहदरबारमा बस्ने भने पनि अझै बस्न सकेको छैन । विहीबार साँझ माधव पक्षका नेताहरु आक्रोशित बनेपछि ओली पक्ष केही नरम रुपमा प्रस्तुत भएको थियो । शुक्रबार बिहानैदेखि दुई पक्षका कार्यदल सदस्यहरुवीच अनौपचारिक छलफल शुरु भएकाले बैठक केहि समय ढिलो गरी सुरु हुने देखिएको छ ।
‘आज उहाँहरु केही नरमरुपमा प्रस्तुत हुनुभएको छ, सहमतिमा आउने सम्भावना पनि देखिएको छ,’ माधव नेपाल पक्षका एकजना कार्यदल सदस्यले भने,‘ फागुन २३ यता उहाँहरुले गरेका एकलौटी निर्णयहरु सबै खारेज हुनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो, हस्ताक्षर फिर्ताको त च्याप्टर नै क्लोज भइसक्यो ।’
आज बस्ने कार्यदलको बैठकमा सहमति जुटेपछि फेरि अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच होटल मेरियटमा भेट वार्ता हुने र दुई नेताबाट संयुक्त वक्तव्य जारी हुन सक्ने एक नेताले बताए ।
एमालेभित्रको विवाद मिलाउन दुई पक्षबाट ५–५ जना सदस्य रहेको १० सदस्यीय कार्यदलले केही दिनयता सिंहदरबारस्थित अर्थमन्त्रालयमा वार्ता गर्दै आइरहेको छ । १० दिनयता विभिन्न छलफल र वार्ताहरु भए पनि निश्कर्ष निस्कन सकेको छैन ।
विहीबार साँझको छलफलपछि माधव पक्षका नेताहरुले वार्ताबाट कुनै प्रगति नभएको, ओली पक्षले ठोस प्रस्ताव नल्याएको र अदालतको मुद्दालाई प्रभावित बनाउन र अल्मल्याउन मात्रै खोजेको आरोप ओली पक्षमाथि लगाएको थियो ।