अन्तरजातीय विवाह गरेर भागेका जोडीको बास जंगलमा, रुकुम घटना दोहोरिनसक्ने आफन्तको चेतावनी

शुक्रबार, २५ असार २०७८

काठमाडौं– कैलालीमा अन्तरजातीय विवाह गरेका एक जोडी २१ दिनदेखि जंगलमा लुकेर बस्न बाध्य भएको भिडिओ सार्वजनिक भएको छ । । कैलालीको भजनी नगरपालिका ४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाह गरेपछि २१ दिनदेखि जंगलमा लुकेर बस्न बाध्य भएका हुन् । उनीहरुले एक भिडिओ बनाउँदै भनेका छन्— ‘हामीलाई रुकुम घटना दोहोरिन सक्छ भनेर परिवारले भनेका छन् ।’

प्रकाश–मालती फाटट्फुट्ट गाउँमा आएपनि जंगलमा लुकेर बस्ने गरेको गरेका छन् । विवाह गरेलगत्तै मालतीका आफन्तले प्रकाशलाई मारिदिने, घर जलाइदिने चेतावनी दिएपछि आफूहरु जंगलमा गएर बस्न बाध्य भएको प्रकाशले भिडिओमार्फत बताएका छन् । कैलालीकै एक जंगलमा लुकेर बसिरहेका उनीहरुले जंगलबाटै आफूहरु समस्यामा परेको भिडिओ सार्वजनिक गरेका हुन् ।

दलित अभियन्ता तथा अध्येता जेबी विश्वकर्माले भिडिओ ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । भिडियोमा उनीहरुले अन्तरजातीय विवाह गर्दा भोगेको मानसिक र सामाजिक विभेदको बारेमा बोलेका छन् । भिडिओसार्वजनिक भएपछि केही दलित अभियन्ता र युवकका आफन्तको समन्वयमा उनीहरुलाई घरमा फर्काउने प्रयास भइरहेको छ ।