१० महिनासम्म पनि किन कारोबार भएन समाज लघुवित्तको, अब कहिलेदेखि हुन्छ कारोबार ?

शनिबार, २६ असार २०७८

काठमाडौं – समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गरेको १० महिना भइसक्दा पनि दोश्रो बजारमा कारोबार हुन पाएको छैन । उक्त लघुवित्तमा लगानीकर्ताहरुको पुँजी १० महिनादेखि बन्धक बनेको छ ।

समाज लघुवित्तले १० महिनाअघि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरेको थियो । आईपीओ जारी गरेर सूचीकृत भएसँगै एकदिन पनि कारोबार हुन नपाई यस संस्थाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँग मर्जर सम्झौता गरेको थियो । ६ असोजमा मर्जर सम्झौता गरेपनि मर्जरको काम भने निकै लामो समयसम्म यस संस्थाले सम्पन्न गर्न सकेको छैन ।
दुई संस्थाहरुबीच मर्जर सम्पन्न नहुँदा समस्यामा भने लगानीकर्ताहरु परेका छन् । मर्जर सम्पन्न भएपछि मात्रै कारोबार खुला हुने हुँदा ८० हजार ७ सय सर्वसाधारण सेयरधनीहरुको पुँजी बन्धक भएको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल ३ महिना भन्दा ढिला भए राष्ट्र बैंकसँग समय थपका लागि अनुमति लिनुपर्ने बताउँछन् । यी दुई संस्थाको विषयमा समय थप भए नभएको बारेमा बुझेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउने उनले बताएका छन् ।

समाजका सीईओ किशोरी महतो मर्जरको विषयमा सकारात्मक छैनन् । संस्थाको सीईओ भए पनि सञ्चालक समितिमा समेत महतो निकै बलिया छन् । आफू र श्रीमती सावित्री महतोको नाममा कुल पुँजीको १५ प्रतिशत हिस्सा सेयर लिएका उनले आफ्नै नातेदारहरुलाई नै सञ्चालक समितिमा राखेका छन् ।

संस्थाको सञ्चालक रहेका सरोजकुमार महतो उनकै भान्जा नाता पर्ने हुन् । उनकै कारणले मर्जर प्रक्रियामा ढिलाई भइरहेको संस्थाकै सञ्चालकहरुको आरोप छ । तर सीईओ महतोले पनि मर्जरमा ढिलाई भएको भए पनि आफ्नै कारणले मात्रै भने ढिलाइ नभएको बताए । आफ्नो १५ प्रतिशत सेयर रहेको पनि स्वीकार गरेका उनले सञ्चालक आफ्नो नाता परे पनि गलत मनसायले नभई कानूनी प्रक्रिया पुरा गरेर सञ्चालक भएको बताए ।

मर्जर पनि जतिसक्दो चाडो होस् भन्ने पक्षमा आफू रहेको बताए । ‘म त जतिसक्दो चाडो होस् भन्ने पक्षमा नै छु, तर विभिन्न कारणले ढिलो भएको छ’ उनले भने, ‘विभिन्न बहानाबाजी गरेर मेरोमात्रै समस्या छ जस्तो देखाइयो, तर त्यो यथार्थ होइन म मर्जरको पक्षमा छु ।’

लगानीकर्ताको पुँजी लामो समय बन्धक भएकोमा आफूलाई पनि दुःख लागेको बताए । हतार(हतारमा मर्जर सम्झौता भएको र मर्जरमा हस्ताक्षर गरेको २४ घण्टाभित्र नै जानकारी नेपाल स्टक एक्सचेन्जमा जानकारी दिनु पर्ने भएकाले रोक्का भएको उनले बताए ।

कारोबार कहिलेदेखि खुल्छ वा मर्जर पनि कहिले हुन्छ भन्ने अवस्था नभएको उनको भनाई छ । ‘हामी छिटो गर्ने प्रयासमा छौँ, हामी जनताको पैसा धेरै समय झुलाउने पक्षमा छैनौँ ।’ उनले भने, ‘मर्जहबाट पछि हटेर भएपनि हामी निकास दिन्छौँ ’