पूर्वशिक्षा मन्त्री श्रेष्ठलाई झट्का, रुपा सुनारको मुद्धामा सर्वोच्चले दियो कारवाही गर्न आदेश
काठमाडौं – पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई झट्का लागेको छ । सर्वोच्च अदालतले जातीय विभेद गरी कोठा नदिएको आरोप लागेकी घरबेटीलाई छुटाउन सहयोग गरेका उनलाई सर्वोच्च अदालतले झट्का दिएको हो ।
अदालतले पूर्वमन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन अन्तरिम आदेश दिएर झट्का दिएको हो । यदी उनी मन्त्री पदमै रहेका भए बखिस्तीमा पर्ने थिए ।
बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले पूर्वमन्त्री श्रेष्ठविरुद्ध रुपा सुनारले दिएको जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गराउन आदेश दिएको हो ।
‘निवेदिकाले सरस्वती श्रेष्ठविरुद्ध दायर गरेको जाहेरी दरखास्त अनुसन्धानकै क्रममा रहेको र निज सरस्वती श्रेष्ठ हिरासत मुक्त हुँदाको अवस्थामा मन्त्रीको सार्वजनिक पदमा बहाल रहेका विपक्षी कृष्णगोपाल श्रेष्ठ उपस्थित भई हिरासतबाट निजलाई मन्त्रीको सरकारी सवारी साधनमा लगी भन्ने मिसिलबाट देखिएको देखियो ।’ अदालतको आदेशमा भनिएको छ ।
‘उक्त कार्यले मुद्दाको अनुसन्धान प्रक्रिया प्रभावित तुल्याएको भनी यिनै निवेदिकाले निज कृष्णगोपाल श्रेष्ठविरुद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकाले सो जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नु गराउनु’ आदेशमा भनिएको छ ।