सकियो माओवादी केन्द्रको बैठक, के भयो निर्णय ?
काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतका बारेमा छलफलमा देउवालाई विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्रका सांसद साँसद् मातृका यादवले जानकारी दिए ।
उनले अहिलेसम्मको आफूहरुको लडाइँ संसद् निरन्तर चलोस् भन्नेमा रहेको बताउँदै त्यसमा सफल भएको बताए। बैठकमा आगामी सरकारमा ‘पावर सेयरिङ’को विषयमा भने छलफल नभएको उनले बताए।
बैठकमा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गरेका थिए ।
गत असार २९ गतेबाट प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका काँग्रेस सभापति शेरबहादुर देउवाले आज आइतबार बस्ने दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ । फागुन २८ को सर्वोच्च अदालतको फैसलापछि संसद्को पहिलो बैठक आइतबार ४ बजे बस्दैछ ।