एमाले स्थायी कमिटी बैठक सकियो, के–के भयो निर्णय ?

आइतबार, ३ साउन २०७८

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ। बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले एमाले विभाजनलाई औपचारिकता दिन हतार-हतार विश्वासको मत लिन खोजिएको ठहर गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले यसअघि नै पार्टीले प्रतिपक्षमा रहने र सरकारलाई समर्थन नगर्ने भनिसकेकाले विश्वासको मत नदिन सांसदलाई निर्देशन दिइएको बताए । सम्भव भएसम्म अरु दलसँग पनि सोही आग्रह गरिने उनले बताए ।

ज्ञवालीले १० बुँदे सहमति कार्यन्वयन गरी पार्टी एकताको रक्षाका लागि निरन्तर प्रयास गरे पनि आज कार्यदलसँगको भेटमा माधव नेपालले त्यसलाई अश्वीकार गरेको जानकारी दिए । उनले माधव नेपालले देउवा सरकारलाई विश्वासको मत दिने जानकारी आफूहरूलाई गराएको बताए ।

ज्ञवालीले भने, ‘उहाँले एक्लै भए पनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नुभयो । उहाँको तर्फबाट कार्यदलमा रहनु भएका साथीहरुले त्यसो गर्नु उचित नहुने बताउनुभए पनि उहाँले आफू एउटा बिन्दूमा पुगिसकेकाले आफ्नो बहुमत नभएको कमिटीको निर्णय मान्दिन भन्नुभयो ।’

एमाले बैठकमा कार्यदलका सदस्यहरूले माधव नेपालसँगको छलफलको जानकारी गराएका थिए । नेपाल अब एमालेमा नफर्किने निष्कर्ष बैठकले निकालेको छ । तर, १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने निर्णय बैठकले गरेको छ । प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिंदैछन् ।