देउवालाई विश्वासको मत दिने सांसदसँग एमालेले माग्यो २४ घण्टे स्पष्टीकरण

सोमबार, ४ साउन २०७८

काठमाडौं – नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना २२ जना सांसदलाई कारबाही गर्ने तयारीसहित २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ।

सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यस्तो प्रस्ताव गरेका हुन्। बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले भने अब स्पष्टीकरणको अर्थ नभएकाले सिधै कारबाहीको निर्णय गर्नुपर्ने माग गरेका छन्।

एमालेले प्रधानमन्त्री देउवाको विपक्षमा मतदान गर्ने निर्णय गरे पनि आइतबार राति संसदमा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका थिए।

त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका थिए भने नेपालनिकट १० सांसद तटस्थ बसेका थिए। यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरेका थिए।