प्रचण्डले ‘अन्टसन्ट’ बोलेपछि भीम रावल आगो, ओली खुशीले गदगद

आइतबार, १० साउन २०७८

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूले प्रतिनिधि सभाबाट दिएको राजीनामा बारे प्रतिक्रिया दिएका छन् । आफूले एमाले फुटाउन रचिएको षडयन्त्रलाई असफल बनाउन राजीनामा दिएको बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन ढाल्ने षड्यन्त्रपूर्वक भीम रावललाई राजीनामा गर्न लगाएको बताएका थिए । त्यसको प्रतिउत्तरमा रावलले गठबन्धन टुटाउन नभई एमाले बचाउन आफूले सांसद पदबाट राजीनामा दिएको बताए ।

शनिबार राति ट्विटरमा प्रतिक्रिया लेख्दै उनले पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलनको भलो नहुने भएकाले त्यसलाई आफ्रले रोक्न राजीनामा दिएको बताए । शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रावलको राजीनामालाई ‘ढलेको’ संज्ञा दिएका थिए ।

‘सरकार गठनभन्दा अगाडि नै गठबन्धनलाई टुटाउन निकै कसरत भयो। त्यो कसरत हुँदा केहीकेही साथीहरु नपत्याउँदो किसिमले ढल्दिनुभयो। पछिल्लो राजीनामा प्रकरणसम्म तपाईं हामीलाई थाहा छ, गठबन्धनमा राम्रो भूमिका खेलेका बडो स्प्रिटका साथ गरेका साथीहरु पनि ढले। त्यो त्यतिकै ढलेको भन्न हुँदैन।’ प्रचण्डले भने ।

‘त्यहाँभित्र गम्भीर ढंगले नै चिजहरु भएका छन्। गठबन्धन टुटाउन नसकेपछि गठबन्धनलाई बहुमत प्राप्त नहोस् भन्न झन् ठूलो कसरत सुरु भयो। हामीले पनि सकेको तागत लगायौं’, रावललाई संकेत गर्दै प्रचण्डले भनेका थिए।

प्रत्युत्तरमा रावलले ‘‘प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा एमालेलाई ढाल्ने षडयन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ। एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो ?’

यो विषयमा बहस हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली भने खुशी भएका छन् । ‘भीम रावलको राजीनामाले माधव नेपालको दाइने हात भाँचिएको छ । रावल ओलीको पक्षमा काम गर्न थालेका छन् ।’ ओली निकट एक नेताले भने, ‘विपक्षीको बलियो खम्मा आफूतीर आएपछि खुशी नहुने को होला ?’