नेकपा नेता रणवीरको रिट खारेज, कहिले हुन्छ फैसला ?
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका नेता भरत बम ‘रणवीर’को रिट खारेज भएको छ । रणवीरको हकमा मेघेन्द्र न्यापानेले सर्वोच्च अदालतमा हालेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको हो ।
सार्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिट खारेज गरिदिएको हो । जिल्ला अदालत नेपालगञ्ज, बाँकेमा मुद्धा विचाराधिन अवस्थामा रहेकाले उक्त मुद्धाको छिटो फैसला गर्न परमादेश दिदै अदालतले रिट खारेज गरेको हो ।
रणवीरको पक्षमा बरिष्ठ अधिबक्ता एकराज भण्डारी, कपिलचन्द्र पोखरेल, कान्तिराज ढुंगाना लगायतले बहस गरेका थिए । जेठ १९ गते दर्ता भएको रिटमा आइतबार सुनुवाइ गर्दै सर्वोच्चले एक महिनाभित्र फैसला गर्न बाँके जिल्ला अदालतलाई परमादेश दिएको हो । रणवीर बाँकेको जानकी गाउँपालिका–६ गहनापुरबाट २०७५ सालमा बैशाख २४ गते पक्राउ परेका थिए ।
पक्राउ गरेर वेपत्ता बनाएको प्रहरीले उनको झोलामा प्रेसर कुकर बम फेला पारेको भन्दै झुटा मुद्धा लगाएको थियो । त्यही मुद्धाको प्रारम्भीक बहस गर्दै बाँके जिल्ला अदालतले उनलाई पुपक्षका लागि कारागार चलान गरेको थियो । अहिले उनी केन्द्रीय कारागार सुनधारमा बन्दी जीवन विताइरहेका छन् । मुटुका रोगी रणवीरको कारगारकै अस्पतालमा सामान्य उपचार गराइरहेका छन् ।