पार्टी फुटाउन माधव नेपाललाई ‘मोटिभेट’ गर्दै प्रचण्ड, स्पेशल प्याकेजसहितको ‘ललिपप’ तयार

मंगलबार, १२ साउन २०७८

काठमाडौँ – नेकपा एमाले फुटाउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्वारन देखिको बल लगाएको खुलेको छ । उनले आफ्नो गास कटाएर भएपनि एमाले फुटाउने रणनीति बनाएको खुलेको हो । त्यसका लागि स्पेशल प्याकेज तयार भएको छ ।

नेपाली कांग्रसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मुख्य भुमिका खेलेका नेपाल पक्षका नेताहरु सत्ता सहकार्यका लागि मरिहत्य गरेका छन् । उनीको नाढी छामेका प्रचण्डले पार्टी फुटाउने स्पेशल प्याकेज तयार पारेका हुन् । स्पेशल प्याकेजमा संघिय सरकारमा सबैभन्दा धेरै मन्त्रालय दिने, प्रदेशमा दुई प्रदेश प्रमुख र दुई मुख्यमन्त्री दिने, ६ वटै प्रदेशमा मन्त्रीहरु र विभिन्न खालमा राजनीतिक नियुक्तीमा प्राथमिकता दिने उल्लेख छ ।

उनीहरु सरकारमा सहभागी हुन तत्कालिन कानुनी अड्चन रहेकाले पहिला एमाले फुटाउन दल त्यागसम्बन्धी अध्यादेश ल्याउने देउवा सरकारको तयारी छ । त्यसका लागि केपी ओलीले पहिल्यै ल्याएको पार्टीको केन्द्रीय समिती बैठकमा ४० प्रतिशत भए दल फुटाउन पाइन व्यवस्थासहितको अध्यादेश ल्याउने तयारी भइरहेको बालुवाटार निकट श्रोतको भनाई छ ।

पार्टी फुटाउनका लागि गठबन्धनले नेपाल पक्षलाई ‘विशेष प्याकेज’ सहितको ललिपल देखाइरहेका छन् । स्रोतका अनुसार गठबन्धनले नेपाल पक्षबाट संघीय मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशमन्त्री, राजदूतसँगै विभिन्न संवैधानिक निकायमा नियुक्ति गरिदिने ललिपप देखाएको छ।

गठबन्धन सरकारले सात प्रदेशमध्ये दुई प्रदेशमा वरिष्ठ नेता नेपाल पक्षबाट प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ।कुन–कुन प्रदेश भन्ने चाहिँ टुङ्गो लागिसकेको छैन। मंगलबार मात्रै शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गण्डकी प्रदेशमा कांग्रेसका पृथ्वीमानसिंह गुरुङ र लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका अमिक शेरचनलाई नियुक्ति गरेको छ ।

हाल प्रदेश १, प्रदेश २, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले अध्यक्ष केपी ओलीले नियुक्त गरेका प्रमुखहरू छन्। त्यस्तै, गठबन्धनले प्रदेश १, बागमती र लुम्बिनी प्रदेशमा त्यहाँको प्रदेश सरकार ढाल्ने र तीनमध्ये दुई प्रदेशमा माधवपक्षलाई मुख्यमन्त्री पद दिने भएको स्रोतले जनाएको छ। बाँकी रहेको एक प्रदेशमा चाहिँ कांग्रेसलाई मुख्यमन्त्री पद दिने भएको छ।

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा माओवादी केन्द्रका मुख्यमन्त्री छन्। गण्डकी प्रदेशमा कांग्रेसको र प्रदेश २ मा जनता समाजवादी पार्टीको मुख्यमन्त्री छन्। यता २५ वटा मन्त्रालय रहेको संघीय मन्त्रालयमध्ये सातवटा मन्त्रालय माधव नेपाल पक्षलाई दिने गठबन्धन सरकारको यसअघिकै तयारी हो।

यो संख्या गठबन्धनबाट सत्ता नेतृत्व गरेको दल कांग्रेस, माओवादी केन्द्र र जसपाले पाउने भनिएको भन्दा अधिक हो। बढी मन्त्रालय दिने भनिनुको पछि माधव पक्षलाई फकाउन हो। गठबन्धनले हरेक प्रदेशमा कम्तीमा दुई जनाको दरले माधव पक्षलाई मन्त्री दिने पनि तयारी गरेको छ।

गठबन्धन सरकारले राष्ट्रिय योजना आयोगको सदस्य माधव नेपालपक्षीय डा. रामकुमार फुयाललाई बनाएको छ। यसअघि डा. खिमलाल देवकोटालाई पनि उपनिर्वाचनमार्फत् राष्ट्रिय सभा सदस्य गठबन्धनले बनाइसकेको छ।

यसरी माधवपक्षलाई गठबन्धनका अन्य घटकहरूले सहयोग गर्दै आएका छन्। अब, संवैधानिक निकायहरूसँगै राजदूत नियुक्तिमा पनि अवसर दिने गठबन्धनको तयारी रहेको स्रोतले जनाएको छ।