इक्यानका सदस्य नै ठगी धन्दामा, भीसा चार्ज भन्दै पैसा कुम्ल्याउँदै
काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का सदस्यमाथि नै ठगीको आरोप लागेको छ । विद्यार्थीहरुलाई अध्ययनका लागि कोरिया पठाइदिने भन्दै इक्यान चितवनका सदस्य प्रकाश रिजालमाथि ठूलो रकम ठगी गरेको आरोप लागेको हो ।
अघिल्लो बर्षको अप्रिल इन्टेकका लागि एप्लाई गरेका विद्यार्थीबाट रिजालको कन्सल्टेन्सी गोल्डेन इमिनेन्ट इन्टरनेशनलले १५ देखि २० जनालाई ठगेको हो । मोटिभेटको सम्पर्कमा आएका पार्वतिपुर चितवनका प्रदिप थापाले विद्यार्थीबाट २ लाख रुपैयाँसम्म ठगेको बताए ।
कोरिया क्रिटियन युनिभर्सिटी (केसीयु)मा डिप्लोमा कोर्षका लागि आवेदन दिएका १५ देखि २० जनाबाट कन्सल्टेन्सीले २ लाखका दरले पैसा खाएको उनको आरोप छ । कोभिडका कारण विद्यार्थीको भिसा रिजेक्ट भएपछि फिर्ता हुनपर्ने रकम सबै फिर्ता नगरेर झ्याम पारेको उनीहरुको भनाई छ ।
विद्यार्थीलाई कलेजमा बुझान पर्ने ५ हजार ८ सय १० डलर भएको भएपनि रिजालको कन्सल्टेन्सीले ६ हजार ५ सय १० डलर तिर्न लगाएर आफूहरुलाई फसाएको विद्यार्थीको गुनासो छ । ‘अन्य कन्सल्टेन्सीबाट एप्लाई गर्ने विद्यार्थीहरुले ५ हजार ८ सय १० डलर बुझाएका छन् । हामीलाई कसरी ६ हजार ५ सय १० डलर बुझाउन भनियो ।’ मोटिभेट न्यूजसँगको टेलिफोन कुराकानीमा १ विद्यार्थीले भने, ‘विश्वविद्यालयसँगको मिलेमत्तोमा हामीलाई आर्थिक भार थपियो । कमिसनका लागि रिजाल सरले वेइमानी गर्नु भयो ।’
आफूहरुबाट सरासर ७ सय डलर बढि लिएको उनको भनाई छ । एल्लाई गरेर ट्युसन फिसमेत बुझाइसकेका विद्यार्थीलाई विश्वविद्यालयले अनलाइन कक्षा लिन लगाएको थियो । अनलाइन कक्षा लिँदा लिदै विद्यार्थीको भिसा रिजेक्ट भएको थियो । भिसा रिजेक्ट भएपछि कलेजले १ हजार ४ सय ६० डलर कटाएर विद्यार्थीको पैसा फिर्ता गरेको थियो ।
विद्यार्थीहरुले १ हजार ४ सय ६० डलर र भिसाफी बापतको ७ सय डलर फिर्ता हुनपर्ने माग राखेका छन् । ‘काठमाडौँ, चितवन, बुटवल गरी हामी १ सय भन्दा धेरै विद्यार्थी पीडित छौँ । कोभिड कम भएपछि हामी काठमाडौँ गएरै आन्दोलन गछौँ ।’ मोटिभेट न्यूजसँग कुरा गर्दै एक विद्यार्थीले भने, ‘शिक्षा मन्त्रालय, प्रहरी प्रशासन र दुतावासमा गएर धर्ना दिन्छौँ ।’
कन्सल्टेन्सीका संचालक रिजालले आफूले विद्यार्थीबाट १ रुपैयाँ पनि तलमाथि नगरेको बताए । मोटिभेट न्यूजसँगको कुराकानीमा उनले भने, ‘पैसा बुझाउँदा खेरी डलरले फरक पारेको हो । हामी एजेन्सी मार्फत काम गर्ने भएकाले हामीलाई विद्यार्थीले १ रुपैयाँ पनि बुझाउन पर्दैन् ।’
‘कोरियामा रहेको एजेन्सीको माध्ययमबाट काम गर्ने भएकाले हामी विद्यार्थीसँग पैसाको आस गर्दैनौँ ।’ उनले भने, ‘अहिले भिसा नलागेकाले समस्या भएको हो । भिसा लागेको भए सबै जना खुशी हुन्थे । यो समस्या आउने थिएन् ।’ उनको आफूले पैसा नलिएको बताए पनि डकुमेन्टेशन चार्जभन्दै विद्यार्थीबाट २५ हजार रुपैयाँ उठाएको पाइएको छ । ‘हामीबाट डकुमेन्टेशन चार्ज, रजिष्ट्रेशन चार्ज र कुरियर फी भनेर अग्रीम २५ हजार लिएको छ ।’ विद्यार्थीले भने, ‘७ सय डलर भिसा लाग्नभन्दा पहिलै जोडेर विश्वविद्यालयको खातामा हाल्न लगाएको छ ।’
२० जनाबाट रिजालको कन्सल्टेन्सीले २१ लाख ६६ हजार रुपैयाँ धेरै असुलेको छ भने विश्वविद्यालयको मिलेमत्तामा ३४ लाख ७४ हजार ८ सय झ्याम पारेका छन् । सबै गरेर एउटा कन्सल्टेन्सीबाट मात्र ५६ लाख ४० हजार रुपैयाँ डुबेको छ । विद्यार्थीको यो पैसा कन्सल्टेन्सीले दिनपर्ने यस क्षेत्रका जानकारहरुको भनाई छ ।