माधव नेपाल नहुँदा पनि एमालेले बहुमत ल्याउँछ : अध्यक्ष ओली

शनिबार, १६ साउन २०७८

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल पक्षमा नेताहरू नआए पनि चिन्ता गरेर बस्नुपर्ने अवस्था आफूहरुका लागि नरहेको दावी गरेका छन् । पार्टीको काठमाडौँ जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएर देखाउने बताए ।

पार्टीमा खुट्टा तान्ने तत्वहरू अव पार्टीभित्र नरहेकाले बहुमत ल्याउन सकिने उनको तर्क छ । सो कार्यक्रममा बोल्दै ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहमाथि तीन आरोप लगाएका छन् । नेपाल समूहका नेतामाथि तीन आरोप लगाउँदै पार्टीमा उनीहरुको कुनै ठाउँ नभएको बताए ।

नेपालसहितका नेतालाई मुख्य–मुख्य ‘अपराधी’को रुपमा चित्रण गरेका हुन् । ‘वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिण पन्थीको पक्षमा फ्लोर क्रम गरेर मत हाल्ने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर पार्टीको सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार बनाएर फ्लोर क्रस गर्ने’, अध्यक्ष ओलीले नेपाल समूहमाथि आरोप लगाउँदै भने,‘यस्ता प्रतिक्रियावादीका मतियारका लागि पार्टीमा ठाउँ छैन ।’

ओलीले नेपाल पक्षका अन्य नेतालाई भने पार्टीका आउन पुनः आह्वान गरे । ‘अरु साथीहरू गल्ती महसुस गरेर फर्कनुहुन्छ भने हामी मौका दिन्छौँ, आउनुहोस्– यो पार्टी हामी सबैले बनाएका हौँ’, अध्यक्ष ओलीले थपे ,‘गल्ती भइहाल्यो भने पनि त्यसलाई सच्याएर आउनुहोस्, काम गरौँ ।’

‌‌‍‘अवको निर्वाचनमा बहुमत ल्याएर देखाउँछौँ । किनभने पार्टीमा खुट्टा तान्ने तत्वहरू छैनन् । अगाडि बढन खोज्यो, खुट्टा तान्ने, उम्मेदवार बनाउन खोज्यो नजित्नेलाई अघि सार्ने, जो पार्टीप्रति समर्पित छैन् उसलाई उम्मेदवारको रुपमा अघि सार्नु पर्छ भन्ने’ उनले भने, ‘अहिले फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछिपछि कुद्दै छन् नि, यस्ता तत्वहरु नभएपछि पार्टीले स्पष्ट बहुमत ल्याउनेछ ।’

अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीले सशक्त हैसियत देखाउनुपर्ने उल्लेख गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजान पार्टीका सबै नेता, कार्यकर्ताहरुलाई योगदान गर्न पनि आग्रह गरे । उनले भने,‘अव यस पार्टीले आगामी निर्वाचनमा सशक्त हैैसियत विजयका साथ देखाउनु पर्नेछ । म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, स–साना कुराहरुमा नअल्झिकन, आन्तरिक मनमुटाव नराख्न, म कहाँ परे, मेरो पद कहाँ पर्‍यो भन्ने भन्ने कुरामा ध्यान नदिई उपयुक्त ढंगले कार्य विभाजन गर्न, उपयुक्त ढंगले उम्मेदवार चयन गर्न र एकताबद्ध अनुशासित ढंगले पार्टीलाई अघि बढाउन हामी सबैको योगदान चाहिन्छ ।’