तुइन तार्ने माँझीको वयान, ‘काठमाडौँ जादैछु भाञ्जा भन्नुभएको थियो तर एसएसबीका कारण…’
काठमाडौँ – शुक्रबार दार्चुलाको ब्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर ब्याँसका जयसिंह धामी बेपत्ता भए । मालघाटमा तुइन तार्ने काम गर्दै आएका कल्यानसिंह धामी (माँझी) जयसिंह तुइन तरिरहेका बेला एसएसबीले डोरी काटेको बताउँछन् ।
टेलिफोनमा उनले घटनाबारे यसरी बताए । ‘महाकाली नदीमा तुइनमार्फत व्याँसबासीलाई ओहोरदोहोरा गराउन थालेको २१ वर्ष पुगिसक्यो । म प्रायजसो बिहान ७ बजे घरबाट निस्कन्छु र साँझ अबेरमात्रै घर फर्किन्छु ।
शुुक्रबार बिहान करिब सवा ७ बजेको हुँदो हो । खाजा खाएर मालघाटमा तुइन भएको ठाउँमा पुग्दा चार जनाको समूह मलाई कुरिरहेको थियो । व्याँसकै गौरसिंह धामी, अमरसिंह धामी, मनिराम धामी र बहादुरसिंह धामी सदरमुकाम खलंगा आउने प्रतीक्षामा थिए ।
मैले सुरुमा उनीरुलाई तारेँ । उनीहरु पछि जयसिंह धामी, बिक्रम रंगोली र अनिता धामी तुइनको प्रतीक्षामा थिए । जयसिंह नातामा मेरो मामा पर्छन् । म जयसिंह धामीलाई तुइनबाट तारिरहेको थिएँ । सो क्रममा पारीपट्टीबाट दौडेर दुई जना एसएसबी आउँदै गरेको देखेँ ।
मामा (जयसिंह) नदीको बीच भागमा पुगेका मात्र के थिए, माथिबाट नदीको किनारमा पुगेको एक जना एसएसबीले घाटमै आएर रुखमा बाँधेको तुइनको डोरी निकाल्न थाल्यो । मैले मान्छे छ डोरी ननिकाल्नुस् भनेर इसारा गरेँ, तर उनीहरुले बेवास्ता गरे ।
मामा (जयसिंह) पारीपट्टी पुग्नै लागेका बेला एसएसबीले डोरी निकालेपछि लछारिएर उहाँ महाकालीको भेलमा खस्नुभयो । डोरी निकालेपछि एसएसबी भागिहाल्यो । करिब ३० सेकेण्डसम्म मामाले नदीमा टाउको देखाउँदै हुनुहुन्थ्यो । हामीले इसाराले छेउतिर जानुस् भन्दै थियौँ तर नदीको भेलले उहाँलाई एकछिनमै लिएर गयो ।
हामी निरीह भएर त्यो कारुणिक दृष्य हेर्न विवश भयौं । एसएसबीले हामीलाई गाली गर्ने, कुटपिट गर्ने, धम्क्याउने काम वषौँदेखि गरिरहेकै थियो । २१ वर्षको अवधिमा पहिलो पटक एसएसबीले कल्पना नै नगरेको अमानवीय घटना हामीमाथि घटाएको छ ।
एक हप्ता अगाडि पनि एसएसबीले तुइन निकालेको थियो तर शुुक्रबारको जस्तो अमानवीय व्यवहार देखाएको थिएन । मामाले रोजगारीको खोजीमा काठमाडौँ जादैछु भाञ्जा भन्नुभएको थियो तर एसएसबीका कारण भाइबहिनी टुहुरा भए ।
हामीमाथि भारतीय ज्यादती कहिलेसम्म ? महाकाली नदीमा पुल नबन्दा हामी व्याँसबासीले यसरी नै अकालमै मृत्युवरण कहिलेसम्म गर्नुपर्ने हो ? पुल निर्माणका लागि वषौँदेखि दबाब दिदै आयौँ । शिलान्यास भएको तीन वर्ष बितिसक्यो अहिलेसम्म काम अधुरै छ । ठेकेदारले अलपत्र पारेका छन् ।
अब सरकारले चाडै पुल निर्माण गरिदिनुप¥यो । हिजोको घटनाका कारण आजदेखि मैले पनि नदीमा तुइन लगाउन छोडिदिए । पुल छिटो निर्माण गरिदिनुप¥यो भन्ने हाम्रो माग छ ।’