दार्चुलाबाट आयो नयाँ कुरा, फर्कियो अनुसन्धानमा खटिएको सरकारी टोली
काठमाडौँ – दार्चुलामा तुइनबाट तर्ने क्रममा महाकालीमा खसेर बेपत्ता भएका जयसिंह धामीबारे विभिन्न क्षेत्रबाट अनुसन्धान भइरहेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नताबारे छानबिन गर्न बनेको समिति रित्तो हात फर्किएको छ ।
व्याँस गाउँपालिका २ मालका ३३ वर्षीय धामी एसएसबीले तुइन काटेपछि महाकालीमा खसेको स्थानीय र प्रत्यक्षदर्शीले बताएका थिए । त्यही विषयको खोजी गर्न हिडेको अनसन्धान टोली रित्तो हात दार्जुला जिल्ला सदरमुकाम फर्किएको हो । तीन दिनसम्म पनि उनीहरु शव र प्रमाण फेला नपारेर खलङ्गा फर्किएका हुन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय दार्चुला र गृह मन्त्रालयलाई भारतीय सुरक्षाकर्मीको यस घटनामा संलग्नता रहेकोबारे पुष्टि नभएको रिर्पोटिङ गरेका छन् । शनिबार भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई दिएको जवाफमा यस घटनामा एसएसबीको संलग्नता नरहेको बताएका थिए ।
स्थानीय बहादुरसिंह धामीले घटना एसएसबीले तुइन काटेपछि भएको भन्दै छानबिन गर्न माग गरेर भारतीय प्रहरी चौकी पाङलामा निवेदन समेत दिएका थिए। घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक वीरसिंह धामीको नेतृत्वको टोली खटिएको छ। टोलीमा नेपाल प्रहरी र अनुसन्धान समूह पनि सहभागी छन्।
शनिबार बेलुका सात बजेतिर टोली सदरमुकाम खलंगाबाट माल पुगेको थियो। आइतबार घटनास्थल हेरिएको र स्थानीयसंग सोधपुछको काम गरिएको टोलीमा खटिएका एक प्रहरी अधिकृतले बताए। ‘मान्छे बेपत्ता भएको तीन दिन भइसेकेकोले पीडितलाई धेरै सोधपुछ गर्न सकिएन, प्रत्यक्षदर्शीलाई सदरमुकाम आउन भनिएको छ। भोलि उनीहरू आउनेछन्,’ उनले भने।
पीडितकै ठाउँमा गएर सोधपुछ गर्न नसक्ने कस्तो अनसन्धान टोली हो भनेर प्रश्न उठेका छन् । उनीहरुको गाउँमै सोधपुछ गर्नको सट्टा फेरी सदरमुकाम आउ भन्ने अनाविय व्यबहार भएको भन्दै चौतर्फी ओलोचना भएको छ ।
शुक्रबार बिहान सवा ८ बजेतिर तुइन तर्ने क्रममा घटना हुदा जयसिंहपछि पालो कुरेर बसेका दुई जना र तुइन सञ्चालक कल्याणसिंह धामीलाई सोमबार जिल्ला प्रहरी कार्यालय बोलाइएको छ। ‘प्रत्यक्षदर्शीले जे बयान दिन्छन् त्यसैलाई आधार मानेर अनुसन्धान अघि बढ्छ, उनीहरूले भनेपछि कुरा छर्लंगै होला,’ ती प्रहरी अधिकृतले भने। त्यसदिन घटना हुनुअघि तुइन तरेर पारि भारत पुगेका चार जनाको बयान प्रहरीले लिइसेकेको छ।
उनीहरूले एसएसबीका दुई जना जवान तुइन भएको स्थानमा पुगेको देखेको प्रहरीसमक्ष बताएका छन्। ती मध्येका एक बहादुरसिंह धामी पनि हुन्। उनीहरूले जयसिंह तर्ने बेलामा झोला वारि नै छोडेर गएको बताएका छन्।
‘काटेकै त देखिएन तर रुखनेर एसएसबी थिए। तुइन खोल्न लागेका थिए वा के गरे उनीहरूले प्रष्ट देखेको बताएनन्,’ ती प्रहरी अधिकृतले भने। तुइनमा प्रयोग गरिएको बिजुलीको फलामे तार थियो। त्यो तार अनुसन्धानका लागि गएको टोलीले फेला पारेको छैन।
‘तुइन लाउनेवालाले तार तानेर फालेको रहेछ, तार भेटिए पनि काटेको हो कि होइन थाहा हुन्थ्यो,’ उनले भने।उनका अनुसार तुइन सञ्चालक कल्याणसिंह धामीले वर्षौं पुरानो तार काम नलाग्ने ठानेर महाकालीमै बगाइदिएका छन्।
घटनास्थल पुगेको प्रहरीले प्रष्ट प्रमाण फेला पार्न नसकेर सोमबार जिल्ला फर्किँदैछ। प्रत्यक्षदर्शीको बयान नै घटनाको अनुसन्धान सहयोगी हुने देखिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दार्चुला घटनामा आफू नबोल्ने बताएको छ। घटनाको अनुसन्धानको पाटो प्रमुख जिल्ला अधिकारीले हेरिरहेकाले यस विषयमा उनीहरूले नै जवाफ दिने प्रदेश प्रहरी प्रमुख डिआइजी पुरुषोत्तम कँडेलले बताए।