प्रचण्ड–नेपाल भेटको निश्कर्ष : रामकुमारी झाँक्रीलाई उपसभामुख बनाउने, अरु के-के भयो निर्णय ?

मंगलबार, १९ साउन २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले बरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । भेटमा लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पद एमालेलाई दिने सहमति भएको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले दावी गरेअनुसारै उपसभामुख दिने सहमति भएको बैठकमा सहभागी एमालेका एक नेताले बताए । सत्तारुढ गठवन्धनसँगै सहकार्य गरिरहेको नेपाल पक्षले उपसभामुख आफ्नो पक्षलाई दिन यसअघि शीर्ष नेताहरुको बैकमा प्रस्ताव गरेको थियो । प्रचण्डले त्यसमा आफू सहमत रहेको बताएका थिए ।

संविधानमा भएको व्यवस्था अनुसार प्रतिनिधिसभाको सभामुख र उपसभामख फरक दल र फरक लिङ्गको हुनुपर्नेछ । विगतमा सत्तारुढ नेकपाका सभामुख भएपनि उपसभामुख चयन हुन सकेको थिएन । नेपाल पक्षले उपसभामुखमा कसलाई पठाउने भन्ने कुरा भने सार्वजनिक गरेको छैन ।

तर भित्रभित्र उपसभामुख रामकुमारी झाँक्रीलाई बनाउने विषयमा चर्चा चलेको छ । सभामुख पुरुष भएकाले उपसभामुख महिला हुनु पर्ने छ। सो कारण पछिल्लो समय चर्चामा रहेकी झाँक्रीलाई उपसभामुख बनाउने चर्चा चलेको हो।

शीर्ष नेताहरुको बैठकमा नेपाल पक्षले सरकारमा जाने हुंदा ५ मन्त्रालयसहित उपसभामुख दावी गरिरहेको माओवादी उच्च श्रोतले जानकारी दियो । एमाले संस्थागत हिसावले सरकारमा जाने कि नजाने भन्ने अझै किटान नभएकाले मन्त्रीहरुको विषय भने ओझेलमा परेको छ ।

माओवादी उच्च श्रोतका अनुसार नेता नेपालले यस अघि सरकारमा सहभागि हुनका लागि एमालेका ३ सांसदको नाम अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दिईसकेका थिए । सोही अनुसार आईतबार वा सोमबार भित्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी थियो । तर एमाले एकताका विषयमा कार्यदल तहमा केही सकारात्मक छलफल भएकाले नेपाल पक्ष तत्काल सरकारमा सहभागि नहुने कुराको जानकारी नेता नेपालले प्रचण्डलाई दिएका थिए ।

यस अघि बरिष्ठ नेता नेपालले एमालेका तर्फबाट डोटीका सांसद प्रेम आले र तनहुका सांसद किसान श्रेष्ठसहित अर्को एक जनाको नाम अघि सारेका थिए । तर तयारी अनुसार मन्त्रिपरिषद विस्तारको काम नभएकाले आले र श्रेष्ठसमेत मन्त्री बन्ने नबन्ने भन्ने कुराको किटान भएको छैन ।

एमाले नेपाल पक्षबाट सरकारमा सहभागि हुनेमा यसअघि आले, श्रेष्ठसँगै मेटमणी चौधरी, यज्ञराज सुनुवार, बिरोध खतिवडा, बेदुराम भुषाल लगायतको चर्चा चलेको थियो । दोश्रो तहका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेताहरु अध्यक्षमा केपी ओलीलाई नै कायम राखेर एमाले एकताको पक्षमा लागेपछि बरिष्ठ नेता नेपाल, झलनाथ खनाल र तेश्रो तहका नेता बार्ताटोलीसँग असन्तुष्ट थिए ।