प्रधानमन्त्रीले मेरो राजीनामा माग्नु भएको छैन् : शाक्य
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले सरकारले आफ्नो राजीनामा नमागेको बताएका छन् । उनले यसबारेमा आफूले भोली (बुधबार) औपचारिक धारणा राख्ने बताएका छन् ।
शाक्यनिकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले नभई ऊर्जामन्त्री पम्फा भुसालले आफ्नो राजीनामा माग गरेको शाक्यको भनाइ छ।
‘प्रधानमन्त्री देउवाले बालुवाटारमा ऊर्जामन्त्री भुसाललाई बोलाएर राजीनामा गर्न लगाउनुभएको होइन’, शाक्यको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘माओवादी केन्द्रबाट नै मेरो राजीनामा मागिएको हो। यसबारे भोलि पत्रकारसँग कुरा गर्छु।’
ऊर्जा मन्त्रालयको कमान माओवादी केन्द्रकबाट पम्फा भुसालले पाउनासाथ कुलमानलाई फेरि प्राधिकरणमा ल्याउने तयारी भएको थियो। सोहीअनुसार ऊर्जामन्त्री भुसालले शाक्यलाई राजीनामा गराएर वा अन्यत्र लगेर घिसिङलाई प्राधिकरणमा ल्याउने तयारी गरेकी थिइन्।
सोसँगै मंगलबार प्रधानमन्त्री देउवाले कुलमान ल्याउने प्रक्रिया थाल्न ऊर्जामन्त्रीलाई निर्देशन दिएका थिए। त्यसपछि भुसालले शाक्यको राजीनामा माग गरेकी हुन्। शाक्यलाई तीन वर्षभन्दा बढी कार्यकालको जिम्मेवारी दिइनेछ भनी गत वर्ष भदौमा मन्त्रिपरिषदले नियुक्ति दिएको थियो।
यसको अर्थ उनको कार्यकाल अझै बाँकी छ। यस्तोमा उनी राजीनामा नदिने पक्षमा देखिएका छन्। यता मन्त्रालयले भने राजीनामा नदिए कार्यक्षमतामा प्रश्न उठाउँदै हटाउने तयारी गरेको छ। त्यसो भएमा शाक्य अदालत समेत जान सक्नेछन्।