अमेरिका छोडेर नेपाल आएका किरणले जिते ‘द भ्वाइस अफ नेपाल–३’ को उपाधि

आइतबार, २४ साउन २०७८

काठमाडौं – चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता किरण गजमेर बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषित गरियो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् ।

किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए । यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाईसको ट्रफी पाएका छन् ।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।

किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिए । किरणले भने–‘म यो मायाको लागि सधै नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’

टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका छन् । यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए । यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आएको थियो ।

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरे । उनी भ्वाइसका लागि नै अमेरिकाबाट नेपाल आएका थिए । भुटानी शरणार्थी उनी अमेरिका पुर्नस्थापित भएका थिए ।