कुलमान हटेपछि ह्वात्तै घट्यो विद्युत् प्राधिकरणको नाफा, विचबाटै हरायो ८ अर्ब ३० करोड

आइतबार, २४ साउन २०७८

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको नाफा ह्वात्तै घटेको छ । अघिल्लो दुई आर्थिक बर्षमा सबैभन्दा धेरै नाफा कमाउने सार्वजनिक संस्थानको परिचय बनाएको प्राधिकरणको नाफा यो पटक ह्वात्तै घटेको छ ।

प्राधिकरणको नाफा गत आर्थिक वर्ष २०७७/७८मा करिब ३ अर्ब ३८ करोड रुपैयाँमा खुम्चिएको छ । यो नाफा आर्थिक वर्ष २०७६/७७ को तुलनामा ८ अर्ब ३० करोड रुपैयाँले कम हो ।

गत साउन १० गते ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको स्वागतमा भएको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नाफा साढे ५ अर्ब रुपैयाँमा झरेको जानकारी दिएका थिए । तर, त्यो नाफा कर कट्नुभन्दा अघिको भएको पाइएको छ ।

सबै कर कटौतीपछिको खुद नाफा प्राधिकरणले साढे ३ अर्ब पनि पुर्‍याउन नकसकेको प्राधिकरण सञ्चालक समितिमा बिहीबार पेश भएको चालु आर्थिक वर्षको बजेटमा उल्लेख छ । आव २०७६/७७ मा ११ अर्ब ६८ करोड खुद नाफा कमाएको प्राधिकरणको एकै वर्षमा ३ अर्ब ३८ करोड रुपैयाँमा खुम्चिन पुगेको हो ।

सञ्चालक समितिमा पेश भएको बजेटमा चालु आवको बजेटमा चालु आर्थिक वर्षको खुद नाफा ३ अर्ब १७ करोड मात्रै हासिल हुने प्रक्षेपण गरिएको छ । विगत ४ वर्षमा बजेटको प्रक्षेपणभन्दा बढी नै नाफा आर्जन गर्न सफल प्राधिकरणले गत आवमा भने ठूलो दरमा नाफा घटाएको हो ।

विद्युत चुहावट बढेको, आफ्ना विद्युत गृहहरुको उत्पादन घटेको, भारतबाट महंगो विद्युतको आयात बढाउँदा विगत ४ वर्षदेखि वित्तीय अवस्थामा सुधार गरी सबल बन्दै गएको प्राधिकरणको नाफा ओरालोतर्फ लागेको हो ।

आव २०७२/०७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद घाटा बेहोरेको प्राधिकरण त्यसपछिका आवहरु २०७३/०७४, २०७४/०७५, २०७५/०७६ र २०७६/०७७ मा क्रमशः एक अर्व ५० करोड, २ अर्व ८५ करोड, ९ अर्व ८१ र ११ अर्ब ६८ करोड रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको थियो । ३४ अर्ब ६१ करोडको सञ्चित नोक्सानी धनात्मक बनेको थियो ।

गत आवको बाहेकका सबै वित्तीय विवरण महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखापरीक्षण भएका हुन् । ऊर्जामन्त्री भुसालले राजीनामा मागेपछि गत साउन २० गते पत्रकारसँग भेटघाट गर्दै प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले कोभिड १९ले मिटर रिडिङ गर्न नसकिएको, आन्तरिक उत्पादन घटेको तर विद्युतको खपत बढ्दा भारतबाट आयात बढेको, चुहावट बढेको, डेडिकेटेड महसुल समायोजन गरिएको जस्ता कारणले नाफा घटेको बताएका थिए ।

प्राधिकरणको तथ्याङ्कले गत आवमा आफ्ना विद्युतगृहहरुको उत्पादन घटेको देखाउँछ । प्राधिकरण आफैंले निर्माण गरेका ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र १४ मेगावाटको कुलेखानी जलविद्युत आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गरेको थियो ।प्राधिकरणको आफ्नो विद्युत गृहहरुबाट आव २०७६/७७ मा ३ अर्व २ करोड युनिट विद्युत उत्पादन गरेको थियो ।

तर, गत आवमा २ करोड ८० करोड युनिट विद्युत मात्र उत्पादन भएको छ । अघिल्लो आवको तुलनामा २२ करोड युनिट कम उत्पादन हुँदा प्राधिकरणलाई करिव २ अर्व २० करोड रुपैयाँ घाटा भएको छ । ७० मेगावाटको मध्यमस्र्याङदी विद्युतगृहबाट उत्पादित विद्युत प्रवाह हुने प्रसारण लाइनको टावर बाढीले बगाउँदा र त्रिशूली थ्रिएको युनिटलाई लामो सयमसम्म मर्मतका लागि बन्द गरिँदा उत्पादन घटेको प्राधिकरणले जनाएको छ ।

नेतृत्वले आपत्कालीन रुपमा काम गर्ने ‘इमर्जेन्सी रेस्टोरेसन टावर’ प्रयोग गरी काम सुरु गर्ने निर्णयमा ढिलाइ हुँदा प्राधिकरणले करौडौं आम्दानी गुमाएको प्राधिकरण उत्पादन निर्देशनालयका एक अधिकारीले बताउँछन् ।

‘इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोग गरी तत्काल काम सुरु गर्न सकिन्थ्यो, तर सुरु गर्ने स्वीकृति प्रक्रियामा नेतृत्वले ढिलाइले गर्दा १५ दिनभन्दा बढी लाग्यो, यसबाट करिब २२ करोड जति आम्दानी गुमाएको देखिन्छ,’ उनले भने, ‘निर्णय प्रक्रियामा भएको ढिलाइका कारण प्राधिकरणको आम्दानी गुमाएको जिम्मेवारी कार्यकारी निर्देशकले लिने या हामीले नै ?’