ह्वात्तै बढ्यो मोटरसाइकलको कर, अब तपाईँले कति तिर्न पर्छ ?

सोमबार, २५ साउन २०७८

काठमाडौँ – मोटरसाइकल कर ह्वात्तै बढेको छ । अझ बागमती प्रदेश सरकारले भने सबैभन्दा महङ्गो कर लिने भएको छ । सरकारले १० देखि ४५ प्रतिशतसम्म करको मूल्य बढाए सर्वासाधारणको ढाड सेकेको छ ।

बागमती प्रदेश सरकारले गत वर्षसम्म ४ हजार ५०० रुपैयाँ रहेको १६० सिसीको मोटरसाइकलको कर यस वर्षबाट बढाएर ६ हजार ५०० रुपैयाँ पुराएको छ । प्रदेश सरकारहरुले यस पटक सवारीसाधनको करमात्रै बढाएका छैनन्, पैसा उठाउन मिल्ने सबै क्षेत्र हेरेर कर बढाएका छन् ।

यसपटक सवारीसाधनको नामसारी गर्दा लाग्ने शुल्क बढेको छ भने ब्लु बुकको नवीकरण शुल्क पनि बढाइएको छ । त्यसैगरी बागमती प्रदेश सरकारले गत वर्षसम्म सनाखत गरेको पैसा नलाग्ने गरेकामा यस वर्षदेखि सनाखत गरेको पैसा पनि लिन थालेको छ ।

अहिले नेपालमा २५ लाखभन्दा बढी मोटरसाइकल दर्ता भएका छन् । बागमती प्रदेशमा मात्रै करिब १३ लाख थान मोटरसाइकल दर्ता भएको छ । अहिले विलासिताको सामान भन्दा पनि अत्यावश्यक आवश्यकताको रुपमा हेरिएको निजी मोटरसाइकल माथि करको भारी बोकाउनेमा बागमती प्रदेश सबैभन्दा अगाडि रहेको छ ।

निजी मोटरसाइकल वा अन्य सवारीमा करको दर कायम गर्नेमा कर्णाली प्रदेश सबैभन्दा सस्तो छ भने बागमती प्रदेश सबैभन्दा महङ्गो देखिएको छ । देशका सातवटै प्रदेश सरकारबाट जारी भएको आर्थिक ऐनलाई हेर्दा निजी मोटरसाइकलको कर बढी उठाउनेमा बागमती प्रदेश सरकार नै अगाडि रहेको देखिन्छ ।

बागमती प्रदेशमा ६५० सिसीभन्दा माथिको मोटरसाइकलको वार्षिक कर ३० हजार रहेको छ भने सुदूरपश्चिम प्रदेशमा मात्रै ९ हजार तिरे पुग्छ । त्यसैगरी १२५ सिसीभन्दा तलको मोटरसाइकलको कर अन्य प्रदेशमा २ हजार ५ सयको हाराहारीमा रहेकामा बागमती प्रदेशमा ३ हजार पुराइएको छ ।

त्यसैगरी सबैभन्दा धेरै चल्ने १५० सिसीको मोटरसाइकलको कर बागमती प्रदेशमा ५ हजार रुपैयाँ छ भने कर्णाली प्रदेशमा ४ हजार तिरे पुग्छ । त्यसैगरी कर्णाली प्रदेशमा ४ हजार रुपैयाँ तिरे पुग्ने १६० सिसीको मोटरसाइकलको कर बागमती प्रदेशमा भने ६ हजार ५०० तिर्नुपर्छ ।

त्यसैगरी कर्णाली प्रदेशमा ४ हजार नै तिरे पुग्ने २५० सिसीको मोटरसाइकलको कर बागमती प्रदेशमा भने ११ हजार तिर्नुपर्ने भएको छ । जबकि अधिकांश प्रदेशमा २५० सिसीको मोटरसाइकलको वार्षिक कर ६ हजार रुपैयाँभन्दा तल छ । तर बागमती प्रदेशले भने अन्य प्रदेशको तुलनामा दोब्बर कर असुली गरेको छ ।

अन्य प्रदेशले अधिकतम ३०० रुपैयाँ लिइरहेको नामसारीका लागि अबदेखि बागमती प्रदेशमा ५०० रुपैयाँ बुझाउनुपर्नेछ । यसअघि मोटरसाइकलको नामसारी गर्दा बागमती प्रदेश सरकारले २०० रुपैयाँ मात्रै लिने गरेको थियो ।

त्यसैगरी ब्लु बुक नवीकरणका लागि पनि बागमती प्रदेश सरकारले २ सय प्रतिशत बढाएको छ । यसअघि ब्लु बुक नवीकरणको वार्षिक शुल्क १ सय रुपैयाँ रहेकामा आर्थिक वर्ष २०७८÷७९ बाट भने ३०० रुपैयाँ लिने भएको छ ।

बागमती प्रदेश सरकारले मोटरसाइकलको सिसी अनुसार करको दरमा पनि व्यापक फेरबदल गरेको छ । गत वर्षसम्म १६० सिसीको मोटरसाइकलको वार्षिक कर ४ हजार ५०० रुपैयाँ लिने गरेकामा यस आर्थिक वर्षदेखि बढाएर ६ हजार ५०० पुराएको छ । १६० सिसीको मोटरसाइकलको कर एकै वर्षमा २ हजार रुपैयाँले बढेको छ ।