पार्टीमा देउवाले मनपरी गरेको भन्दै कांग्रेस युवा नेताहरुको छुट्टै भेला, केके भयो छलफल ?

बिहिबार, २९ कार्तिक २०७५

कार्तिक २९, काठमाडौं – पार्टीभित्र गुट उपगुट र तीव्र विवाद बढ्न थालेपछि कांग्रेसका युवा नेताहरु पनि भेलामा जुट्न थालेका छन् ।

नजिकिँदै गरेको महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा आन्तरिक रणनीति तयार पार्न र पार्टी सभापतिको एकलौटी कार्यशैलीको विरोध जनाउन भेला भएको उनीहरुले बताएका थिए ।

बुधबार फेरि कांग्रेस युवा नेताहरु छुट्टै भेला भए । उनीहरुले पनि नजिकिँदै गरेको महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा नै छलफल भएको बताएका छन् ।

युवा नेताहरु गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी, गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियार लगायत ६ जना युवा नेता भेलामा सहभागी थिए । महासमिति बैठक, नेविसंघको महाअधिवेशन, विधान संशोधन र सभापति देउवाको कार्यशैली लगायतका विषयमा अनौपचारिक छलफल भएको भेलामा सहभागी नेता गुरुराज घिमिरेले बताए  ।  यसअघि सोमबार कांग्रेस नेतृ सुजाता कोइराला निवासमा पार्टी सभापति शेरबहादुर देउवा इतर समूहका नेताहरु भेला भएका थिए  ।

शुक्रबार थप छलफल हुने र छलफलबाट एउटा निर्णय निकालेर त्यसै अनुरुप अघि बढ्ने पनि उनले बताए  । विधान संशोधनको प्रक्रिया चलिरहेका बेला पार्टी नेतृत्वले बहुमतको बलमा विजयकुमार गच्छदारलाई उपसभापति बनाएपछि पौडेल–सिटौला समूहका साथै युवा नेताहरु पनि रुष्ट बन्दै आएका छन् ।

पार्टी सुदृढ बनाउन एकलौटी ढंगले नभई सबै सामूहिक रुपमा अघि बढ्नुको विकल्प नभएको युवा नेताहरुको निष्कर्ष रहेको सहभागीहरुले बताएका छन् ।