काँग्रेस माओवादीबाट १–१, जसपाबाट ३ जना मन्त्री बन्दै, आजै सपथ ग्रहण

बिहिबार, २८ साउन २०७८

रूपन्देही — आज लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनको सरकार बन्दै छ । लुम्बिनी प्रदेशमा नयाँ सरकार निर्माणका कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको तर्फबाट कुलप्रसाद केसीले नयाँ सरकार बनाउने भएका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले आजै मुख्यमन्त्रीमा केसीलाई नियुक्ति गर्दै शपथ गराउने तयारी गरेका छन् । आजै ६ सदस्यीय मन्त्रिपरिषद् बन्ने भएको छ ।

तोकिएको समयसीमाभित्र अन्य दलबाट दाबी नपरेपछि गठबन्धनबाट केसी मुख्यमन्त्री बन्न लागेका हुन् । सरकारमा पठाउने मन्त्री र मन्त्रालयको टुंगो लगाउन बिहानैदेखि दलहरु बैठकमा जुटे पनि मन्त्रालयको टुंगो लगाउन सकेका छैनन् । जसपाका दुई मन्त्रीसहित मन्त्रालयको टुंगो लागेको छ ।

जसपाले पाउने अर्को एक मन्त्रालयको अझै टुंगो लागेको छैन । अन्य मन्त्रालय बाँडफाँडका लागि छलफल जारी छ । स्रोतका अनुसार कांग्रेसले दाङको निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचित डिल्ली चौधरीलाई पठाउने भएको छ ।

माओवादीबाट प्यूठानको क्षेत्र नं. १ (ख)बाट निर्वाचित कृष्णध्वज खड्कालाई पठाउने निर्णय गरेको छ । ३ प्रदेशसभा सदस्य रहेको जसपाबाट संसदीय दलका नेता सहसराम यादव भौतिक पूर्वाधार विकासमन्त्री र सुमन शर्मा रायमाझी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बन्नेछन् ।

जसपाकै पुर्मती ढेंगाको मन्त्रालय टुंगो लाग्न बाँकी छ । आज मन्त्रालय टुंगो नलागे ढेंगा बिनाविभागीय मन्त्री बन्ने र पछि अन्य मन्त्रीसँगै मन्त्रालयको टुंगो लगाउने कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बताए ।

बिहीबार सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारीमा रहेका दलहरुले जसपाले सबै मन्त्री एकसाथ पठाउन दबाब दिएपछि मन्त्रिपरिषद् ६ सदस्यीय बन्न लागेको हो । बाँकी मन्त्रालय बाँडफाँडका लागि कार्यदल बनाएर छलफल गर्ने दलहरुको तयारी छ ।

यसअघि आजै बिहान काठमाडौंमै रहेका कांग्रेसका बालकृष्ण खाँड, माओवादीका वर्षमान पुन र जसपाका मोहम्मद इस्तिहाक राईले पनि मन्त्री र मन्त्रालयका विषयमा छलफल गरेका थिए ।