सुटुक्क राजदरवारमा राष्ट्रपति, सवा दुई घण्टा जे भयो !
काठमाडौं – राष्ट्रपति विद्यादेवि भण्डारीले नारायणहीटी दरवारको भ्रमण गरेकी छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार संग्रहालयको अवलोकन भ्रमण गरेकी हुन् ।
राष्ट्रपतिले औपचारिक रुपमा दरवारको भ्रमण गरेकी हुन् । उनी एउटा अवलोकनकर्ताको रुपमा संग्रहालयको सबै कोठा हेरेर अपराहृन ५ बजे मात्रै शीतल निवास फर्किइन् ।
करिब सवा २ घण्टा नारायणहिटीमा बिताएकी भण्डारीले सर्वसाधारणले अवलोकन गर्ने रुटबाट मूल दरबारको अवलोकन गरी श्री सदनको पनि भ्रमण गरेकी थिइन् । भ्रमणको क्रममा उनले राजारानीले चलचित्र हेर्ने फिल्महलको समेत दर्शन गरेकी थिइन् ।
भ्रमणको क्रममा संग्रहालयमा रहेका समस्याको बारेमा पनि संग्रहालयका अधिकारीहरुले ब्रिफिङ गरेका थिए । तर राष्ट्रपति भण्डारीले ब्रिफिङ सुने पनि कुनै प्रतिक्रिया नदिई फर्किएको संग्रहालयका अधिकारीहरुले बताए ।
नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक दाहाल भन्छन् ‘यो उहाँको अनौपचारिक भ्रमण थियो । तर हामीले भ्रमणपछि आफूहरुको समस्या पनि सुनायौं ।’
अहिले नारायणहिटी संग्रहालय बन्द रहेका कक्षहरु खोल्ने काम धमाधम चलिरहेको दाहाल बताउँछन् । यही क्रममा गत आर्थिक वर्षको अन्तिममा संग्रहालयले राजारानीले चलचित्र हेर्ने फिल्महलको प्रविधि खरिद गरेको छ । चालु आर्थिक वर्षभित्रै यो सञ्चालनमा ल्याउने संग्रहालयको तयारी छ ।
त्यस्तै, दाहालका अनुसार अझै पनि राजाको सैलुन कक्ष, पुस्तकालय जस्ता कक्षहरु खुला गर्न सकिएको छैन । यो पनि छिट्टै खुला गर्ने तयारी संग्रहालयले गरिरहेको छ । त्यही बन्द कक्ष खुला गर्न परेको समस्या लगायतको विषयमा राष्ट्रपति समक्ष समस्या सुनाएको दाहालले जानकारी दिए ।