जब माधव नेपालको संदेश दिएर घनश्याम भुसाल सिंहरदरवार पुगे, तब ओलीले ठोके साइन

मंगलबार, १ भाद्र २०७८

काठमाडौँ – नेकपा एमाले फुटको घोषणा हुन मात्र बाँकी छ । त्यसका लागि दोश्रो तहका नेताहरुले गरेको प्रयास असफल भएको छ । मंगारबार अन्तिमसम्म पनि दोश्रो तहका नेताहरुका दौडधुप जारी नै थियो ।

तर उक्त दौडधुप विविध कारणले खेर गएको छ । माधव कुमार नेपाल समूहका नेता तथा पार्टीका उपामहासचिव घनश्याम भुसालले पनि अन्तिम समयमा आएर धोका खाएका छन् । मंगलबार विहान माधब नेपाललाई भेटेर पार्टी एकताका लागि अन्तिम प्रयास गर्न सुझाव दिएका थिए ।

जवाफमा नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका आजसम्मका सम्पूर्ण निर्यण फिर्ता लिन र आगामी दिनमा यस्ताखालका निर्णय नगर्ने प्रविद्धता जनाए आफू एकताका लागि तयार रहेको बताएका थिए । त्यही सन्देश लिएर भुसाल ओलीलाई भेट्न ओली भएको ठाउँमा गएका थिए ।

आफूनिकट जनसंगठनका नेता र कार्यकर्तासँग भर्चुअल संवादमा संवोधन गर्दै माभव नेपालले भुसालसँग कुरा भएको पुष्टि गरे । ‘विहान एकताका लागि अन्तिम प्रयास गरौँ । भन्दै कमरेड धनश्याम भुसाल आउनु भएको थियो ।’ उनले भने, ‘उहाँले तपाईको अन्तिम निर्णय के हो । म अध्यक्ष कमरेडलाई भेट्न जाँदैछु भन्नु भएको थियो । उहाँले भेट्न भन्दा पहिल्यो कारवाहीको सूचना आएको छ ।’

भेलामा उनले भने, ‘उहाँले पार्टीभित्रको एउटा पक्षलाई सखाप पार्न खोज्नुभयो । देशलाई गलत बाटोमा लैजान खोज्नुभयो । विदेशीको स्वार्थ रक्षा गर्ने दक्षिणपन्थिसँग साँठगाँठ गर्नुभयो । महन्त ठाकुरजस्ता राष्ट्रियताप्रति अत्यन्क कमजोर संविधानविरोधि शक्तिलाई उहाँले सबैभन्दा प्यारो ठान्नुभयो ।’

ओलीले १५ सिट भएको पार्टीका ११ जनालाई मन्त्री बनाएको भन्दै नेपालले आलोचना गरे । नेपाले भने, ‘उहाँले आफ्नो पक्षमा नरहेका एक–एक कार्यकर्तालाई पाखा लगाउनुभयो । केन्द्रमा त्यस्तैगर्नुभयो । मान्छेले अन्याय भोग्नुपर्यो भने के विद्रोह गर्छ कि समर्पण गर्छ ? विद्रोहीले नै नयाँ निर्माण गर्न सक्छन् ।’

भुसालले भेट्न भन्दा पहिलै अध्यक्ष ओली १४ जना नेतालाई सांसदबाट हटाउन संसद सचिवालयमा पत्र पठाएका छन् । आजै बसेको संसदीय दलको बैठकले माधव नेपालसहित १४ जनलाई कारवाही गरेको थियो ।

त्यस्तै, नेता नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गरेका छन् । आन्तरिक बैठकलाई सम्बोधन गर्दै नेपालले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालको प्रयास पनि असफल भएको बताए ।

नेपालले भने, ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।’

नेपालले अहिले विभाजन भए पनि एकताको ढोका खुला रहने र अन्य कम्युनिस्ट पार्टीहरुसँग पनि सहकार्य हुने बताए । उनले उत्साहका साथ मैदानमा खटिन कार्यकर्तालाई आग्रह गरे ।