फेरी प्रधानमन्त्री बन्दै केपी ओली, अध्यादेशले ढाल्ने भयो देउवा सरकार
काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरी प्रधानमन्त्री बन्ने भएका छन् । शेरबहादुर देउवा सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि ओलीलाई चिठ्ठा परेको छ ।
उनले माधव नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न संसद सचिवालयमा पत्र पठाएका छन् । सरकारले दल विभाजनलाई सहज बनाउने गरी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेकै दिन ओलीले वरिष्ठ नेता नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाएका हुन् ।
कारबाहीमा पर्नेहरुमा नेता नेपालसँगै मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण सरलाकुमारी यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी छन् ।
उनीहरुले दलको ह्वीप उल्लंघन गरेकाले उनीहरुलाई कारबाही गरेको एमालेको पत्रमा उल्लेख छ । जबकी ३ साउनमा ह्वीप उल्लंघन गर्ने एमाले सांसदहरुको संख्या कहिल्यै १४ थिएन । २७ वैशाख २०७७ मा तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिँदा माधव नेपाल पक्षधर २८ जना सांसदहरु अनुपस्थित भए । त्यसपछि धारा ७६ (५) अनुसार सरकार गठन आह्वान गर्दा शेरबहादुर देउवालाई समर्थन गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरे ।
राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेपछि र संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरे । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले ३ साउनमा विश्वासको मत लिँदा २२ सांसदले फ्लोर क्रस गर्दै विश्वासको मत दिएका थिए ।
एमालेका १४ जना पदमुक्त हुने, ८ जना समानुपातिक नयाँ पठाउने रणनीतिमा ओली छन् । यता महन्थ ठाकुर पक्षले १४ जना सांसदलाई कायमै राखेर नयाँ दल बनाउने र सरकारलाई समर्थन नगर्न भन्ने रणनीतिमा ओली छन् । उता माओवादी केन्द्र पनि फुट्न लागेकाले त्यहाँबाट आएका १३ जनाले पनि नयाँ दल बनाउने छन् ।
त्यसो हुँदा ओलीको पक्षमा ११६ जना (प्रेम आलेका ८ जनासहित) एमालेका, महन्त ठाकुरका १४ जना, माओवादीका १३ गरी १४३ जनासहित बहुमत हुन्छ । प्रेम आले सहितका सांसदहरु मन्त्री बन्न माधव नेपाल समूहमा लागेका थिए । ओलीले मन्त्री बनाउने आश्वासन दिएपछि उनीहरु एमालेमै फर्किनेछन् ।
अर्थात एमालेका १४ जना पदमुक्त हुने, ८ जना समानुपातिक नयाँ पठाउने र जसपाको महन्थ ठाकुर पक्षले १४ जना सांसदलाई कायमै राखेर नयाँ दल बनाई सरकारलाई समर्थन नगरेमा र माओवदीका असन्तुष्ट सांसदहरुले नयाँ पार्टी बनाएमा प्रधानमन्त्री देउवाले संसदमा बहुमत गुमाउनेछन् ।
संसदबाट विश्वास गुमाएपछि एमाले अध्यक्ष ओलीले देउवाको राजीनामा माग्नेछन् । उनको राजीनामा नआएसम्म एमालेले संसद अवरुद्धदेखि सडक संघर्ष गर्नेछ । देउवाले राजीनामा नदिई संसद विघटन गर्न सम्भावना धेरै छ । संसद विघटन लगत्तै एमाले आफूसँग बहुमत रहेको दावि सहित सर्वोच्च अदालत जानेछ ।
अदालतले फेरी संसद विघटन बदर गरिदिएर केपी ओलीलाई प्रधानमन्त्री बनाउने सम्भावना एकदमै नजिक छ । किनभने अदालतले संसदमा बहुमत रहँदासम्म संसद विघटन हुन नसक्ने यसअघिनै फैसला गरिसकेको छ । ओलीले यही तयारी अनुसार १४ नेतालाई मात्र कारवाही गरेका हुन् ।