जब घनश्याम भुसालले भीम रावलबारे गोप्य सूचना ल्याए, तब माधव नेपाल एक्सनमा उत्रिए

बुधबार, २ भाद्र २०७८

काठमाडौं – नवौं महाधिवेशनदेखि नेकपा हुँदै आजसम्म माधव नेपाललाई साथ दिएका १४ जना स्थायी कमिटी सदस्यहरूले उनको साथ छोडेका छन् । पार्टी विभाजन गर्ने निर्णयमा भने असहमत हुँदै उनीहरुले नेपालको साथ छोडेका हुन् ।

निर्वाचन आयोगमा दर्ता हुने नयाँ पार्टीका लागि एमालेका पूर्वपदाधिकारीमा उनी एक्लै भएका छन् । उनलाई केही केन्द्रीय सदस्यहरुले साथ दिएपछि स्थायी समिति र पदाधिकारीका नेताहरुले साथ दिएका छैनन् ।

नेकपा एमाले समाजवादी दर्ता गर्ने प्रक्रिया अन्तिममा पुगेका बेला यसअघि वार्ता कार्यदलमा रहेकासहित नेपाल निकट स्थायी कमिटी सदस्यहरूले पार्टी विभाजनमा साथ नदिने भन्दै हस्ताक्षर गर्न अश्वीकार गरेका हुन् ।

केपी ओलीसँग जति असहमति र संघर्ष गरे पनि पार्टी विभाजन गर्न हुँदैन भन्नेमा स्थायी कमिटीका नेताहरू लगभग एकमत देखिएका छन् । कतिपय नेता मोबाइल अफ गरेर बसेका छन् भने कतिपय एकताको लागि अन्तिम प्रयास गरिरहेका छन् ।

यद्यपि माधव नेपालले दल विभाजन निश्चित भएको भन्दै स्थायी कमिटीका अधिकांश नेताहरु आफ्नो पक्षमा आउने जानकारी अर्याल होटलका बैठकमा दिएका छन् । घनश्याम भुसालले भीम रावलसँग भेटेर आएपछि माधव नेपाले नयाँ पार्टी दर्ता गर्न तयार भएका थिए ।

भुसालले अहिले हस्ताक्षर नगरेपनि उहाँहरु अन्तिम समयमा आउने बचन दिएको बताएका थिए । भुसालले १४ जना स्थायी समिति सदस्यलाई नयाँ पार्टीमा लिएर आउने जिम्मा लिएपछि नेपाल नयाँ दल दर्ता गर्नका लागि एक्सनमा उत्रिएका हुन् ।

हाललाई माधव नेपालले स्थायी कमिटीका सदस्यहरुमध्ये मुकुन्द न्यौपाने र बेदुराम भुसालको मात्र साथ पाएका छन् । रघुजी पन्त समेत विभाजनको पक्षमा खडा हुन नमानेपछि एमाले विभाजनपछि पनि एउटा समूह मध्यस्थकर्ताका भूमिकामा रहन खोजेको देखिएको छ ।

स्थायी कमिटी सदस्यहरूसँग संयोजन गर्ने जिम्मेवारी पाएका नेता सोमप्रसाद पाण्डेले सबैसँग सम्पर्क गरे पनि अधिकांशले हाललाई विभाजनमा साथ नहुने जवाफ दिएको उनले बताए ।

एमाले स्थायी कमिटीमा माधव नेपाल पक्षका उनीसहित झलनाथ खनाल, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, मुकुन्द न्यौपाने र अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा छन् ।