भोली सार्वजनिक विदा
सुर्खेत – सरकारले भोली (शुक्रबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारले यही भदौ ४ गते अर्थात् शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिन लागेको हो। प्रदेश सरकारको विसं २०७८ वैशाख ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा सार्वजनिक विदा दिइएको हो ।
निर्णयमा भदौ ४ गते प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा सार्वजनिक विदा दिने सूचना गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले बताए।
विसं २०७२ साउन २३ गतेदेखि प्रदेशमा भदौ ४ गतेसम्म सञ्चालन भएको आन्दोलनले नेपालको कान्छो प्रदेशका रुपमा कर्णाली प्रदेश स्थापना गरेको थियो।
प्रदेश प्राप्तिको आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारको मृत्यु भएको थियो। उनीहरुको सम्झनामा प्रदेश सरकारले हरेक वर्ष प्रदेश स्थापना तथा शहीद दिवस मनाउँदै आएको छ।