माओवादीको भागमा पर्यो ६ मन्त्रालय, थप ४ जना मन्त्रीको नाम टुङ्गीयो

आइतबार, ६ भाद्र २०७८

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले ६ वटा मन्त्रालय पाउने भएको छ । एमालेबाट छुटेको नेकपा एकीकृत समाजवादी पार्टीपनि सरकारमा सहभागी हुने भएपछि माओवादीको भागमा ६ मन्त्रालय परेको हो ।

त्यस्तै, नेपाली काँग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्रालय पाउने भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र बराबरकै हैसियत पाउने भएको हो ।

माओवादी सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो पनि लगाएको छ । माओवादीबाट देवेन्द्र पौडेलले सरकारको नेतृत्व गर्ने भएका छन् ।

उनीसहित पूर्वबाट सुदन किराती, मद्येसबाट शिवकुमार मंडल, दलितबाट महेश्वर गहतराज (अथक) मन्त्री बन्ने भएका छन् । उनीहरु बाहेक नारायणकाजी श्रेष्ठ, शशी श्रेष्ठ, रामनारायण विडारीले पनि मन्त्रीका लागि डौडधुप गरिरहेका छन् ।

तर पहिलो चरणका लागि उनीहरु नै मन्त्री बन्ने माओवादी निकट श्रोतका भनाई छ । तर तत्कालै मन्त्री नियुक्त भने नहुने भएको छ ।

निर्वाचन आयोगमा पार्टी दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।

नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पार्टीलाई आगामी भाद्र ९ गते निर्वाचन आयोगले सनाखतका लागि बोलाएको छ । सनाखत गरेपछि पार्टी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।