बादललाई झट्का, एमालेको स्थायी समितिबाट बादल आउट
काठमाडौँ – नेकपा एमाले स्थायी समितिको बैठक भोली बस्ने भएको छ । उक्त स्थायी समिति बैठकमा माओवादी परित्याग गरी आएका नेताहरुलाई बोलाइएको छैन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरू सहमति नजिक पुगेपछि मंगलबार विहान बैठक बस्न लागेको हो ।
अध्यक्ष ओलीको निवासमा आज भएको छलफलमा यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका लागि भोलि नै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति बैठक बोलाएर अघि बढ्ने सहमति भएको छ ।
२०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति भन्नुको अर्थ बादल समूह (पूर्वमाओवादी समूह) बाहेकको बैठक भनेर बुझ्नु पर्ने बैठकमा सहभागी एक नेताले बताए । बादल समूह बारे एमालेको संयुक्त बैठक पश्चात निर्णय लिईने बताइन्छ ।
ओलीसँगको छलफलपछि नेकपा एमालेका सचिव समेत रहेका प्रदिप ज्ञवालीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले सहमति जनाएको बताए ।
लामो समय माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न नेतृत्वलाई अल्टिमेटम दिएका थिए ।
अल्टिमेटमको अन्तिम दिन सोमबार एकता पक्षधर नेताहरुले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गरेका थिए ।