मुख्यमन्त्रीको सपथ खान हिडेका भीम आचार्यले जब भाइ बितेको खबर सुने…
काठमाडौँ – नेकपा एमालेका सचिव भीम आचार्यले बिहीबार मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ खाएका छन् । उनी मुख्यमन्त्रीको सपथ खान काठमाडौंबाट जहाजमा विराटनगर पुगेका थिए ।
विराटनगर ओर्लीन नपाउँदै उनले अपत्यारीलो खवर सुने । बिहीबार उनको राजनीतिक जीवनकै एउटा महत्वपूर्ण दिन थियो। मुख्यमन्त्री बन्ने वर्षौंदेखिको उनको सपनाको पूरा हुन केही घन्टामात्र बाँकी रहँदा उनले आफ्नो भाई वितेको खवर पाए ।
काठमाडौंबाट उत्साह र खुसी बोकेर विराटनगर ओर्लिएका आचार्य विमास्थलमा सुनेको एउटा खबरले खङ्ग्रङ्ङ भए। उनका कान्छा भाइ राम सुतेकै ठाउँमा मृत फेला परे।
सामान्य अवस्था हुँदो हो त आचार्य खबर सुनेपछि सोझै इनरूवा जान्थे होला। कान्छो भाइको वियोगले विक्षिप्त बनेका परिवारजनलाई अभिभावकीय उपस्थिति दर्शाएर सान्त्वना दिन्थे होला।
कठोरताका जुनसुकै हद पनि पार गर्नुपर्ने कर्म हो राजनीति, जसले न दुःख पर्दा डाको छाडेर रून दिन्छ न सफलतामा खुलेर रमाउने अनुमति नै दिन्छ। भाइलाई गुमाउनुको पीडा दबाउँदै आचार्य विराटनगरमै बसे।
केहीबेरमा प्रदेश १ को एमाले संसदीय दलको नेता चुनिए। लगत्तै मुख्यमन्त्रीको सपथ लिए। मुख्यमन्त्री आचार्यकी पत्नी मीरा खनालका अनुसार सुरूमा भाइ रामको मृत्युको खबर पत्याउनै सकस भयो। फोनमा खबर सुनिरहँदा घरमा रुवाबासी भइरहेको थियो।
पत्याउन करै लाग्यो। आचार्यलाई कुरेर बसिरहेका एमाले सांसदको भीडभाड भएकै ठाउँमा यो कुरा सार्वजनिक भएपछि सबैले मीरालाई घर जान सुझाए। आचार्य मुख्यमन्त्रीको सपथ र पदभार सकेरमात्रै घर जाने सल्लाह भयो।
‘हामी विराटनगर विमानस्थलमा ओर्लेर होटलमा पुगेकामात्रै थियौं। यस्तो खबर आयो,’ मीराले भनिन्, ‘राजनीतिक मान्छेका लागि कार्यकारी जिम्मेवारी प्राप्ति खुसीको क्षण हुन्थ्यो। तर, परिवारले त्यो खुसी मनाउन पाएनौं। उहाँ पनि खुसी हुन सक्ने कुरै भएन।’
मुख्यमन्त्री बन्दै गरेको खुसी खोसिदिने भाइको मृत्युको खबरले आचार्य स्वयंलाई पनि नराम्ररी बिथोलेको प्रष्टै हुन्थ्यो। संसदीय दलको नेता चुनिँदा होस् वा मुख्यमन्त्रीको सपथ लिँदा आचार्यको अनुहारमा भ्रातृ वियोगको दुस्खाइ थियो। न हाँस्न सकेका थिए न रून।
आचार्य पत्नी मीराका अनुसार उनका देवर राम भीमका भाइमात्रै थिएनन्, लामो राजनीतिक यात्राका अटुट सहयात्रीसमेत थिए। २०४६ को जनान्दोलनपछि भीम आचार्य पार्टीको सुनसरी जिल्ला कमिटी सचिव बनेका थिए, भाइ राम इनरुवा नगरका सचिव बनेका थिए।
‘उहाँहरूबीच दाजुभाइका रूपमा मात्रै होइन राजनीतिक सहयात्रीका रूपमा पनि एकदमै राम्रो सहकार्य थियो,’, आचार्यका छिमेकी राजेश दाहालले भने, ‘पाँच दाजुभाइमध्ये भीम र राम लामो समय एकै ठाउँ बसेको पनि हो।’
सुनसरी इनरुवामा प्रशस्त जग्गाजमिन र सम्पत्ति भएको आचार्य परिवारमा पाँच दाजुभाइमध्ये दुई जनाको यसअघि नै निधन भइसकेको छ। कान्छा रामको पनि मृत्यु भएपछि अब साइँला भीम र माइला गोविन्द छन्।
अर्का छिमेकी राजेन्द्र पोखरेलका अनुसार आचार्य परिवारका पाँचै जना दाजुभाइबीच हार्दिक सम्बन्ध थियो। ‘राजनीतिमै भएका कारण भीम र रामको अझ बढी ट्युन मिल्थ्यो,’ उनले भने ‘राजनीतिमा भीमले एउटा ठूलो उपलब्धि हासिल गरेकै दिन राम भने सदाका लागि बिते। यसले भीमलाई विक्षिप्त पारेको छ। तर राजनीतिक दायित्वका कारण उनले समयमै घर आउन पनि पाएनन्।’
मुख्यमन्त्रीको पदभार ग्रहण गरेर, काठमाडौबाट आएका रामका छोराछोरीलाई साथ लिएर मात्रै मुख्यमन्त्री आचार्य घरतिर गएका छन्। आचार्य पत्नी मीराका अनुसार दाइसँग लामो राजनीतिक सहयात्रासमेत गरेका राम पछिल्लो समय मानसिक समस्यासँग जुधिरहेका थिए।
भीमको परिवार मधेशामा बस्ने र रामको परिवार महेन्द्र चोकमा बस्ने भएकाले भेटघाट केही पातलो थियो। तर, फोनमा, परेका बेला एकैसाथ जुट्ने गर्थे।