टोपबहादुर रायमाझीले पाए एमालेमा यति ठूलो जिम्मेवारी

बिहिबार, १० भाद्र २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रबेश गरेका टोपबहादुर रायमाझीले ठूलो जिम्मेवारी पाएका छन् । एमालेमा मोर्चा इन्चार्ज रहेका टोपबहादुर रायमाझीले एकाता कार्यदलको सदस्य पनि बनेका छन् ।

एमालेले जनवर्गीय संगठनहरुमा १० बुँदे सहमतिलाई कार्यन्वयन गर्न ४ सदस्यीय कार्यदल गठन गरेको छ । उक्त कार्यदलको सदस्य बनेका हुने रायमाझी । पार्टीको आन्तरिक विवाद समाधान गर्न भएको १० बुँदे सहमतिलाई जनवर्गीय संगठनहरुमा पनि कार्यान्वयन गर्न महासचिव ईश्वर पोखरेलको नेतृत्वमा ४ सदस्यीय कार्यदल गठन भएको हो।

बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले महासचिव पोखरेलको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको बैठकपछि सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

पोखरेल नेतृत्वको कार्यदलमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेल, तत्कालीन एमालेको जनवर्गीय संगठन मोर्चा इन्चार्ज रहेका सचिव गोकर्ण विष्ट र हाल एमालेमा मोर्चा इन्चार्ज रहेका टोपबहादुर रायमाझी सदस्य रहेका ज्ञवालीले जानकारी दिए।

यो कार्यदलले सबै जनवर्गीय संगठनहरूमा १० बुँदे कार्यान्वयनको मोडालिटी बनाउने र त्यसलाई आवश्यक परे अर्को कार्यदले सहजीकरण गर्ने ज्ञवालीले बताए।

हाल अनेरास्ववियू, युवा संघ, महिला संघ, किसान महासंघ, खेलकुद महासंघलगायतका जनवर्गीय संगठनमा जेठ २ अघिको नेतृत्व फेरिएकाले अब नयाँ ढंगले टुंगो लगाउन कार्यदल बनाइएको हो ।

मंगलबार बसेको स्थायी कमिटीको बैठकले बनाएको कार्यदललाई पनि केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको उनले बताए।

स्थायी कमिटीको मंगलबारको बैठकले १० बुँदे सहमति कार्यान्वयनका लागि भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, धनश्याम भुसाल, लेखराज भट्ट र सुरेन्द्र पाण्डे सम्मेलित कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

केन्द्रीय कमिटीको बिहीबारको बैठकले जनवर्गीय संगठनहरुमा १० बुँदे सहमति कार्यान्वयन गर्न गठन गरेको कार्यदललाई रावल नेतृत्वको कार्यदलले आवश्यक सहजीकरण गर्ने ज्ञवालीले जानकारी दिए।

बिहीबारको केन्द्रीय कमिटी बैठकले असोज ४, ५ र ६ गते विधान महाधिवेशन र मंसिर १०, ११ र १२ गते राष्ट्रिय महाधिवेशन गर्ने स्थायी कमिटीको बैठकको निर्णय अनुमोदन गरेको पनि ज्ञवालीले जानकारी दिए।

१० महाधिवेशनको कार्यतालिकाअन्तर्गत कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशन हुने ज्ञवालीले जानकारी दिए।