ईश्वर पोखरेलले ‘जोसमा होस्’ गुमाउँदा एमालेमा लफडा

शुक्रबार, ११ भाद्र २०७८

काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बखेडा झिक्दा नेकपा एमालेमा लफडा भएको छ । कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गर्न बिहीबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा लफडा भएको हो ।

महासचिव पोखरेलले मनलाग्दी गरेपछि केहीबेर असहज परिस्थिति सिर्जना भएको थियो । तुलसीलाल स्मृति भवन ललितपुरमा बसेको बैठकमा महासचिवले स्थायी कमिटी बैठकले गरेको निर्णय प्रस्तुत गरेका थिए ।

तर महासचिव पोखरेलले स्थायी कमिटी बैठकको निर्णय नपढी आफ्नै ढंगले फरक धारणा राख्न खोजेपछि परिस्थिति केहीबेर असहज बनेको एक नेताले बताए । उनले एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएपछि बाँकी नेता नेपालसँग् नजाने भएपछि जोस निकाल्दै पेल्न खोजेका थिए ।

उनले जोसमा होस् गुमाएपनि पार्टी अध्यक्ष केपी ओलीले सच्याएका छन् । ‘२ जेठ २०७५ अगाडिको एमाले पार्टी संरचना कसरी ब्यूँतन्छ भन्नेबारे महासचिव कमरेडले १० बुँदे सहमति र स्थायी कमिटीको निर्णय भन्दा फरक कुरा राख्नुभयो, त्यसलाई मिलाउन केहीबेर लाग्यो’, ती नेता भन्छन् ।

महासचिव पोखरेलले १० बुँदे सहमति अनुसार, सम्पूर्ण रुपमा २ जेठ २०७५ अगाडिको एमाले पार्टी संरचना नफर्कने संकेत दिएका थिए । महासचिव पोखरेलले सल्लाह, आवश्यकता र सिर्जनात्मकता प्रयोग गरी मातहतका कमिटीमा नेतृत्व कायम हुने बताएका थिए ।

‘१० बुँदे सहमतिबारे स्थायी कमिटीले गरेको निर्णय एउटा थियो, तर त्यो वाचन नगरी आफ्नै तरिकाले महासचिव कमरेडको प्रस्तुति भयो’, केन्द्रीय कमिटी बैठकमा सहभागी अर्का नेता भन्छन् ।

पोखरेलको प्रस्तुतिप्रति पूर्वमाधव नेपाल समूहका नेताहरुले आपत्ति जनाए । १० बुँदे सहमति र स्थायी कमिटीको निर्णय पार्टी एकताको निम्ति भएकाले त्यसविपरीत जान नहुने भन्दै फ्लोरबाट टंक कार्कीले फरक मत राखे ।

कार्कीले ‘भएको सहमतिमै रहेर मात्रै पार्टी एकता जोगिने’ तर्क गरे । १० बुँदे सहमति पश्चात केन्द्रीय कमिटी बैठकमा भाग लिएका नेता कार्कीलाई अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुले पनि साथ दिए । फ्लोरबाटै खगराज अधिकारीले एकता जोगाएर अगाडि बढ्नुको विकल्प नरहेकोमा जोड दिए ।

ड्यासमा रहेका उपमहासचिव घनश्याम भुसाल पनि बोले । ‘यो बैठक १०बुँदे सहमति र स्थायी कमिटी बैठकले गरेको निर्णय अनुमोदन गराउनका निम्ति हो कि छलफल गर्न हो ?’ भुसालले प्रश्न गरे, ‘छलफलका लागि भने अर्कै कुरा, नत्र भएको कुरा प्रस्तुत गरौं ।’ बैठक स्रोतका अनुसार, भूसालले १० बुँदे सहमति पत्र निकालेर वाचन नै गरे ।

भुसालले जस्तै स्थायी कमिटी सदस्य शंकर पोखरेलले पनि १० बुँदे सहमतिबारे व्याख्या गरे । ८ भदौको स्थायी कमिटी बैठकले गरेको निर्णय र १०बुँदे सहमतिभन्दा बाहिर जान नहुने दबाबसहित बोल्ने नेताहरुको संख्या बढ्दै गएपछि भने अध्यक्ष ओलीले स्थायी कमिटी बैठकको निर्णय र दशबुँदे अनुमोदन गरिने बताए । ‘थप छलफल गर्ने होइन, भएको कुरा कार्यान्वयन गर्ने हो’, अध्यक्ष ओलीले निष्कर्ष सुनाए ।

भाँच्चिएको हातमा प्लास्टर खोलेको अवस्थामा पार्टी रहेको भन्दै उनले सहमति ठीक वा बेठीक भनेर जान नहुने बताएका छन् । ‘भाँच्चिएको हातबाट प्लास्टर खोलिएको अवस्था छ । अहिले धेरै चलाउनु हुन्न, फेरि भाँचिन सक्छ’, अध्यक्ष ओलीको भनाइ उदृत गर्दै बैठकका सहभागी नेताले सुनाए ।

उनले पार्टीभित्र कुनै भेदभाव नगरी जाने बताएका छन् । सँगै, माधव नेपालको बहिर्गमनले ठूलो क्षति नपुग्ने, तर हुनसक्ने क्षति जोगाउन लागिपर्न पनि निर्देशन दिएका छन् ।

केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बैठकले गरेको निर्णय अनुमोदन गरेको छ । १०बुँदे सहमति जनसंगठनहरुमा कार्यान्वयन गर्न महासचिव पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव गोकर्ण बिष्ट र स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिइएको छ ।

मंगलबारको स्थायी कमिटी बैठकले एमालेलाई २ जेठ २०७५ अगाडिकै अवस्थामा फर्काउने आवश्यक काम गर्न उपाध्यक्ष भीम रावल, उपमहासचिवद्वय पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेको कार्यदल बनाएको बनाएको थियो, जसलाई केन्द्रीय कमिटीले पनि अनुमोदन गरेको छ ।