फोहोर उठाउन मैदानमै उत्रिए प्रधानमन्त्री देउवा, लिए यस्तो एक्सन
काठमाडौं – उपत्यकाको फोहोर नउठेपछि प्रधानमन्त्री शेरबहादुर देउवा एक्सनमा उत्रिएका छन् । फोहोर उठाउन नसकिने अवस्था आए प्रधानमन्त्री देउवा मैदानमै उत्रिएर एक्सन लिएका हुन् ।
प्रधानमन्त्री देउवाले सडक विभागका महानिर्देशकलाई टेलिफोन गरी तत्काल फोहोर लिएर जाने बाटो बनाउन निर्देशन दिए । सोमबार काठमाडौँको फोहोर गनाउन थालेपछि काठमाडौँ महानगरपालिकाको टोली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएको थियो ।
सोही भेटमा देउवाले तत्काल बाटो बनाउन निर्देशन दिएको काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्धर शाक्यले बताए । मेयर शाक्यले उपत्यकाको फोहोर फाल्ने स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने सडक निर्माणका लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको बताए ।
सडक निर्माणका लागि महानगरले नै खर्च व्यहोर्ने पनि उनले बताए । ‘सिसडोलसम्म फोहोर बोकेका गाडी पुर्याउ सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्रीज्यूलाई आग्रह गर्यौं । उहाँले त्यहीँबाट सडक विभागका महानिर्देशकलाई टेलिफोन सम्पर्क गरी तत्काल बाटो बनाउने काम थाल्न निर्देशन दिनुभयो’ मेयर शाक्यले भने ।
शाक्यले बञ्चरे डाँडाको ल्याण्डफिल साइट छिटो निर्माण सक्ने वातावरण बनाइदिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइटको हालसम्म पनि निर्माण नसकिएको र त्यहाँ पुग्ने सडक पनि नबनेको उनले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
वञ्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको विषयमा शाक्यले भदौ ८ गते नै प्रधानमन्त्रीलाई पत्र दिएका थिए । ‘‘बञ्चरे डाँडा ल्याण्डफिल साइट र सो साइटसम्म पुग्ने बाटो अविलम्ब निर्माण सम्पन्न गरी काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनमा सहजताका लागि प्राथमिकताका साथ आवश्यक कारबाही अगाडि बढाइदिनुहुन अनुरोध गर्दछु,’ मेयर शाक्यले प्रधानमन्त्रीलाई दिएको पत्रमा भनिएको छ ।
सामान्य अवस्थामा फोहोर बोकेका १५० वटा ट्रक सिसडोल ल्याण्डफिल साइटमा दैनिक पुग्ने गरेकामा हिजोआज वर्षाका कारण सडक बिग्रिँदा ५० वटा ट्रक मात्र जाने गरेका छन् । जसले गर्दा उपत्यकाका चोक र सार्वजनिक स्थलमा फोहोर थुप्रिएका छन् ।