कांग्रेसका चर्चित नेताले दिए राजीनामा

बुधबार, १६ भाद्र २०७८

काठमाडौं – नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् । बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा उनले निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाएका छन् ।

१३औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ तथा प्रतिनिधिसभा क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिएको उनले बताएका छन् । तर विधानको गलत व्याख्या गरेर दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरेको उनको आरोप छ ।

यो निर्देशिका मान्य नभएको भन्दै उनले दलित संघको अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्य दुवै पदबाट राजीनामा दिएको बताएका छन् ।

अघिल्लो महाधिबेशनमा कम्तीमा जम्मा जनसंख्याको ८.५ प्रतिशत दलित समूदायको प्रतिनिधित्व हुँदै आए उनकाृे भनाई छ । ‘वर्तमान विधानको गलत व्याख्या गर्दै वनाइएको असमावेशि निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेल पूर्ण तरिकावाट विना छलफल लागु गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यका लगायत मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णतः निशेध गर्ने देखिएको छ ।’ उनको राजीनामा पत्रमा भनिएको छ ।

उनले अगाडि भनेका छन्, ‘तर पार्टीमा सधै बर्चश्व रहेको जाती, वर्ग, समुदायको सहभागिता र प्रतिनिधित्वको दर भने वृद्धि भएको देखिन्छ । एघारौं महाधिवेशन सम्माननीय सभापतिज्यू आफैले प्रारम्भ गर्न भएको ‘कदमजम’ सिद्धान्तको खिल्ली उडाएकोछ ।’

यसरी पडयन्त्र मुलक ढंगवाट दलित समुदायलाई अपमान र अन्याय हुनेगरि लागु गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य नहुने उनको भनाई छ ।

‘यो प्रवृत्तिले नेपाली कांग्रेस पार्टीमा दलित समुदायको सहभागिता केहि समय पश्चात नै शुन्य हुने देख्दा देख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र यसै पार्टीको सम्बन्धित समुदायलाई संगठित गर्ने भातृ संस्था नेपाल दलित संघको केन्द्रीय अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवं अन्यायपूर्ण नीति नियम लागु हुँदा टुलुटुलु हेरेर वस्न नैतिक रुपले नमिल्ने र नसक्ने भएकोले आजैका मिति देखि लागु हुनेगरि उल्लेखित दुवै पदबाट राजीनामा गरेको छु ।’ उनले भनेका छन् ।