रातारात देउवा सरकारले दिन थाल्यो धम्की
काठमाडौँ – सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरुद्धमा बोल्नलाई कारवाही गर्ने चेतावनी दिएको छ । शुक्रबार बेलुका एक विज्ञप्ति जारी गर्दै विरोध गर्ने सबैलाई कारवाही गर्ने चेतावनी दिएको हो ।
गहृ मन्त्रालयले निकाले विज्ञप्तिमा मित्रराष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रुपमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी भएको विषयमा ध्यानकर्षण भएको जनाएको छ ।
गृह मन्त्रालयका प्रबक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा एमसीसी विरुद्ध नकारात्मक टिकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधिहरु प्रति नेपाल सरकारको गम्भिर ध्यानाकर्षण भएको छ जनाइएको छ ।
‘विकास आयोजना कार्यान्वयनमा असुरक्षा महशुस हुने तथा मित्रराष्ट्रहरुसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न नगराउन मन्त्रालय अनुरोध गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्ता अभिव्यक्ति र गतिविधिहरुको मन्त्रालयले सुक्ष्म रुपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानून बमोजिम कडा कारवाही समेत गरिने चेतावनी मन्त्रालयको छ ।
मन्त्रालयको विज्ञप्ति आएपछि यसको चौतर्फी विरोध भएको छ । देउवा सरकारले तानाशाही प्रबृति लाद्न खोजेको भन्दै जनस्तरबाट विरोध भएको छ ।
