संघीय संसदमा यस्तो छ लापरबाही, कोरम नपुगेपछि विकास समितिको बैठक स्थगित
मङ्सिर ४, काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठक कोरम नपुगेपछि स्थगित गरिएको छ।
मंगलबार बिहान सिंहदरबारमा ११ बजेका लागि बोलाइएको बैठक आवश्यक संख्यामा समितिका सदस्यहरु उपस्थित नभएपछि स्थगित गरिएको हो। कोरम नपुगेपछि समितिको बैठक स्थगित गर्नुपरेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्। ५१ प्रतिशत सदस्य उपस्थित नभए समितिको बैठक बस्न नसक्ने समितिको कार्यविधिमा उल्लेख गरिएको छ।
सभापति खड्काले सांसदहरु निर्वाचन क्षेत्रको बजेट विनियोजन गर्न जिल्लामा जानुपरेको र भर्खरै दसैं, तिहारजस्ता चाडपर्व पनि सकिएकाले सांसदहरुको उपस्थितिमा कमी हुन आएको पनि स्पष्ट पारिन्।
समितिको आज बोलाइएको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कामको प्रगति विवरणबारे छलफल गर्ने कार्यसूची तय थियो। तर, सदस्यहरुको आवश्यक संख्या नपुगेपछि समितिको बैठक स्थगित गरिएको छ।
समितिको अर्को बैठक सूचना जारी गरेर बोलाइने पनि समितिकी सभापति खड्काले बताइन्।