आज सार्वजनिक विदा
काठमाडौँ – सरकारले आज सार्वजनिक विदा दिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले थारू समुदायको महत्वपूर्ण पर्व अट्वारीको उपलक्ष्यमा कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार अघिल्लो वर्ष अटुवारीको अवसरमा प्रदेशभरी बिदा दिइएकोमा यो वर्ष कैलाली र कञ्चनपुरमा मात्रै बिदा दिइएको छ।
अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ। आफ्ना दिदीबहिनीका घरमा पुगेर अटवारी पर्व मनाइन्छ ।
यसबाट दाजुभाइ तथा दिदीबहिनी बीच स्नेह र ममता प्रगाढ हुने विश्वास थारू समुदायमा छ। थारु अगुवाका अनुसार अट्वारी पर्व मनाउने मुख्यकारण ऐतिहासिक घटनासँग जोडिएको छ।
महाभारतका पाँच पाण्डवहरु र दाङका थारुराजा दंगिशरणबीच लामो समयदेखि राम्रो सम्वन्ध थियो। पाँच पाण्डव र द्रोपदी सबैजना सुर्खेतको काँक्रेविहारमा घुम्नेबेला दाङका थारुराजा दंगिशरणको राज्यमा शत्रुहरुलाई परास्त गर्न लागेको खवर थाहा पाएपछि तावामा पकाउदै गरेको रोटी छोडेर पाँच पाण्डवमध्ये भीम भोकै पेटमा पानी समेत नखाई राजा दंगिसरणको पक्षमा लडेका थिए।
भीमले राजा दंगिशरणको पक्षमा लडेर शत्रुहरुलाई हराउन सफल भएका थिए। सोही विजयी उत्सवको अवसरमा थारु समुदायले अट्वारी मनाउदै आएका छन्।
यसअघि, २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको थियो।