संसदमा फूल पावर देखाउँदै एमाले, यस्तो छ आजको तयारी

आइतबार, २७ भाद्र २०७८

काठमाडौँ – आज पनि प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउसो १ बजेका लागि बोलाइएको बैठकमा नेकपा एमालेले फूल पावर देखाउने भएको छ ।

नेकपा एमालेका युवा नेता तथा प्रतिनिधीसभाका सदस्य महेश बस्नेतले आजको संसदमा फूल पावर देखाउने बताए । उनले अस्तिसम्म कास्टीङ मात्र देखाएको भन्दै आजबाट फूल पावर देखाउने उनको भनाई छ ।

सभामुख अग्नी सापकोटा माथी निकै आक्रोसित भएका बस्नेतले सापकोटाले पूmल भर्सन त देख्न बाँकी नै रहेको बताएका छन् । एमालेलाई जिस्काएर सापकोटाले ठूलो गल्ती गरको भन्दै यसको परिणाम धेरै गम्भिर हुने चेतावनी पनि उनले दिएका छन् ।

प्रेस चौतारी चितवन शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बस्नेतले संसदले विकृति मात्रै जन्माउने र यसले कुनै कानुन र बिजनेस दिन नसक्ने भएकाले चाँडै चुनावमा जानु नै विकल्प रहेको बताए। हिम्मत भए अर्लि इलेक्सन घोषणा गरेर एमाले सँग भिड्न पनि बस्नेतले चुनौती दिएका छन् ।

‘एमालेको तर्फबाट के भन्छु भने, अब यो संसदले अब विकृति, विसंगति जन्माउँछ। कुनै कानुन र बिजनेस दिन सक्दैन। सरकार परमादेशले दिएको छ, बस्नेतले भने, ‘अध्यादेशले मन्त्री बन्ला। तर त्यो विकृति र भ्रष्टाचारको बाहक हुने भएकाले जतिसक्दो चाँडो चुनावमा जानुपर्छ। अर्ली इलेक्सन नै आजको विकल्प हो।’

शुक्रबार संसदमा भएको एमाले सांसद र मर्यादापालकबीचको घम्साघम्सी कास्टिङ मात्रै भएको उनले बताए। प्रमुख प्रतिपक्षलाई पेलेर जान खोजे संसदमा आक्रोश पैदा हुने र मुलुक द्वन्द्वतर्फ जाने उनले चेतावनी दिए।

‘प्रमुख प्रतिपक्ष दलसँग द्वन्द्व बढाएर पार्टी विभाजनको षडयन्त्रमा जानुभयो भने पार्टी अध्यक्षको शब्द सापटी लिएर भन्छु नेकपा एमालेलाई मरेको बाघ सम्झेर कसैले जुँगा उखेल्ने प्रयास गर्छ भने एमाले ज्युँदो बाघ हो भनेर पटक९पटक देखाउँछौँ,’ उनले भने, ‘हिजो देखाएको त त्यो कास्टिङ मात्रै हो। हामी रचनात्मक प्रतिपक्षको भूमिका खेल्न तयार छौं। हिम्मत छ भने निर्वाचनमा आउनुस्, हामी भिड्न पनि तयार छौँ।’

सभामुखले नेपालकै इतिहासमा कार्यव्यवस्था समितिको बैठक नबसी र विपक्षी दलसँग सहमति र छलफल नै नगरी संसद चलाउने प्रचलनको सुरुवात गरेको नेता बस्नेतले बताए। सभामुखले एमाले र माओवादीलाई हेर्ने फरक–फरक चस्मा लगाएको भए त्यस्तो चस्मा निकाल्नुपर्ने उनले बताए।

माओवादी र जसपाले आफ्ना सांसदलाई कारवाही गरेको सूचना सभामुखले २४ घण्टाभित्रै टाँसेको तर एमाले ह्विप उल्लघंन गर्ने सांसदलाई गरेको कारवाहीको सूचना नटाँसी काइते कुरा गरेर एमालेलाई विभेद गरेको उनको आरोप छ।

‘सभामुखको पद तटस्थ हुनुपर्छ। पक्षपातपूर्ण व्यवहार गर्न पाइँदैन र राजनीतिक आबद्धतालाई त्याग्नुपर्छ,’ उनले भने, ‘अहिलेको सभामुखले एमाले विभाजन गर्ने र एमालेलाई पक्षपातपूर्ण व्यवहार गर्ने कुरामा भूमिका खेल्नुभयो। गठबन्धनको मतियार बनेर ह्विप उल्लघंन गर्ने सांसदको विषयमा न्यायाधीशको जस्तो निर्णय गर्नुभयो जुन उहाँलाई त्यो अधिकार छैन।’

एमसीसीको विषयमा बोल्दै एमाले नेता बस्नेतले गठबन्धनको सरकारले निर्णय गरेपछि मात्रै एमालेले आफ्नो धारणा बनाउने बताए। एमाले जनताको इच्छा र चाहना विपरीत जान नसक्ने भन्दै उनले पार्टीको तर्फबाट अहिल्यै धारणा बनाउन हतार हुने बताए।