फुट्नै लाग्यो कांग्रेस, पौडेलले चाले यस्तो कदम

सोमबार, २८ भाद्र २०७८

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र समानान्तर अभ्यास गरिरहेका छन् । संधैजसो ६०/४० को भागवण्डामा चल्ने कांग्रेसमा पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवा एकलौटी हिड्न थालेपछि पौडेल समूह चिढिएको छ ।

पौडेल पक्षले नयाँ रणनीति बनाउन बेग्लै भेला बोलाएको छ। सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा उक्त भेला हुनेछ। बैठकमा पौडेल पक्षमा रहेका शीर्ष नेताहरू उपस्थित हुनेछन्।

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यता विवादबीच नै प्रहरी, प्रशासनको बलमा वडा अधिवेशन गरिएकोमा पौडेल पक्षले विरोध गरेको छ।

यस्तो प्रवृत्तिले १४ औं महाधिवेशन निष्पक्ष हुनेमा शंका देखिएकोले सभापति देउवालाई खबरदारी गर्न भेला बोलाइएको एक नेताले बताए।

प्रदेश नम्बर २ का ८ जिल्लासहित विभिन्न जिल्ला गरी कूल २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता विवाद छ।

भदौ १८ मा गर्ने भनेको वडा अधिवेशन असोज ५ सम्म धकेलिएको छ। अझै विवादित जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टी वेबसाइटमा राखिएको छैन।

क्रियाशील विवाद देखिएका जिल्लामा तत्कालै विवाद हल गर्न आज दिउँसो २ बजे भेला गरेर छलफल गर्न लागिएको पौडेलको सचिवालय स्रोतले जनाएको छ।

पौडेल पक्षले सभापति देउवा पक्ष कमजोर भएका जिल्लामा केन्द्रबाट नै क्रियाशील सदस्यको नाम राख्ने गरिएकोमा विरोध गरेको छ। जिल्लाबाट सिफारिस गरेर पठाइएका नाम हटाएर केन्द्रले नयाँ नाम थपेर क्रियाशीलको सूची सार्वजनिक गर्ने गरेकोमा पौडेल पक्षले विरोध गरेको छ।

कांग्रेसले ५६ जिल्लाका विभिन्न वडाहरूमा भने यसअघि नै अधिवेशन गरिसकेको छ। कांग्रेसले वडा अधिवेशन सक्न ढिलाइ गर्दा गाउँ÷नगर अधिवेशन प्रभावित भएको छ। अब गाउँरनगर अधिवेशन असोज ९ गतेलाई सारिएको छ।

१४ औं महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ। यसरी पेलेरै जाने भए कांग्रेसभित्रै देउवालाई नेता मानेर जाने पक्षमा पौडेल समूह छैन् ।

एमाले अध्यक्ष केपी ओलीसँग नजिक रहेर पार्टी राजनीति गरिरहेका पौडेल नयाँ पार्टी बनाएर देउवालाई चुनौति दिन विषयमा पनि छलफल चलाइरहेका छन् । यस विषयमा ओलीसँग बारम्बार गोप्य रुपमा छलफलहरु भइरहेका छन् ।