प्रचण्डले राजनीतिबाट सन्यास लिने मिति तोकियो

बुधबार, ३० भाद्र २०७८

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिबाट सन्यास लिने मिति तोकिएको छ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रचण्डले राजनीतिबाट सन्यास लिने मिति तोकिदिएका हुन् ।

उनले आगामी निर्वाचनपछि प्रचण्ड नेपालको राजनीतिबाट सदाका लागि विदा हुने घोषणा गरे । एमाले जिल्ला कमिटी अर्घाखाँचीले आयोजना गरेको बृहत् कार्यक्रता भेलालाई मंगलबार सम्बोधन गर्दै बस्नेतले यस्तो कुरा बताएका हुन् ।

एमाले केन्द्रीय सदस्यसमेत रहेका बस्नेतले अब माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको च्याखे राजनीति नचल्ने दाबी गरे ।

‘अस्ति प्रचण्डले म एक्लो हुँदैछु भन्नुभएछ । माओलाई श्रीमतीलेसमेत अन्तिममा साथ नदिएको, लेनिनले पनि साथ नपाएको के के भन्नुभएछ,’ उनले भने, ‘उहाँले सही भन्नुभएछ । प्रचण्ड कमरेड नेपालको राजनीतिबाट एक्लै हुँदै हुनुहुन्छ । उहाँको च्याखे राजनीति अब नेपालमा चल्नेवाला छैन ।’

बस्नेतले प्रचण्ड जता फाइदा देख्यो त्यतै लाग्ने गरेको आरोप लगाए । ‘०७० को चुनावमा कांग्रेसतिर लाग्नुभयो । वामपन्थी हराउन महत्वपूर्ण भूमिका खेल्नुभयो,’ उनले भने, ‘०७४ को चुनावमा कांग्रेसतिर च्याखे दाउ लागेन भनेर केपी ओलीतिर लाग्नुभयो । एमालेतिर आउनुभयो ।’

बस्नेतले मदन भण्डारीको निधनपछि माधव नेपालले एमालेलाई कमजोर बनाएको आरोप पनि लगाए ।

‘माधव नेपाल उकालो चढ्यो । एमाले ओरालो लाग्यो । हात्तीजत्रो एमालेलाई बोकोमात्र बनाए,’ बस्नेतले भने ।