फुट्यो सत्तारुढ गठबन्धन, अल्पमतमा देउवा सरकार

बुधबार, ३० भाद्र २०७८

काठमाडौँ – सत्तारुढ गठबन्धन लगभग फुटेको छ । जनता समाजवादी पार्टी सरकार सहभागी नहुने निर्णय गरेपछि सत्तारुढ गठबन्धन फुटेको हो ।

यो संगै देउवाको सरकार पनि अल्पमतमा परेको छ । अब सरकारलाई कांग्रेस ६१, माओवादी ४९, एकीकृत समाजवादीका २२ र राष्ट्रिय जनमोर्चाका १ जना सांसदले समर्थन रहेको छ ।

यद्यपी जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता भने लिएको छैन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले देउवा सरकारमा आफू सहभागी नहुने घोषणा पछि गठबन्धन गलभग फुटेको हो । गठबन्धन फुटाएर यादवले आफ्नो पार्टी जोगाएका छन् ।

यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन बारम्बार दवाव दिदा पनि अटेरी गरेको भन्दै सरकारमा सहभागी नहुने बताएका हुन् ।

दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार नै रोकिन पुगेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ६० दिन नघिसकेको छ । उनले मन्त्रिपरिषद् पूर्णता दिन पटकपटक प्रयास गरे पनि सफल हुन सकेका छैनन् ।

पछिल्लोपटक अध्यादेश समस्याका रूपमा प्रस्तुत भएको हो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले अध्यादेश खारेज भएपछि सरकारमा सहभागिता जनाउने नीति लिएको छ ।

तर, सरकारलाई समर्थन गरेको अर्को दल नेकपा एमालेबाट विभाजन भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले भने प्रधानमन्त्रीसामु अध्यादेश खारेज नगर्न अनुरोध गरेको छ ।

सरकारलाई समर्थन गरेका दुई दलका फरक मतका कारण प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न नै समस्या उत्पन्न भएको हो ।

गठबन्धनका नेताहरुले उपेन्द्र यादवलाई अहिले हामी थपेर मन्त्रिपरिषद् विस्तार गर्छौ भन्दा पनि मानेनन् । उनले दल फुट्ने डरले आफू त सरकारमा सहभागी भएनन् भएनन् प्रधानमन्त्री देउवालाई गर्न पनि दिइरहेका छैनन् ।