यी हुन् सरकारले फिर्ता बोलाएका राजदूतहरु

मंगलबार, ५ असोज २०७८

काठमाडौं – सरकारले विभिन्न देशका लागि अघिल्लो सरकारले नियुक्त गरेर राजदूतहरुलाई फिर्ता बोलाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती केपी शर्मा ओली सरकारले राजनीतिक कोटामा पठाएका राजदूतलाई फिर्ता बोलाएको हो ।

सरकारको उक्त निर्णयसँगै १० मुलुकमा पठाइएका राजदूतहरु फिर्ता हुने भएका छन् ।

सरकारले चीनका लागि महेन्द्रबहादुर पाण्डेय, बंगलादेशका लागि डा. वंशीधर मिश्र, कतारका लागि नारदमुनि भारद्धाजलाई फिर्ता बोलाएको हो ।

त्यस्तै, युवराज खतिवडा (अमेरिका), अञ्जान शाक्य (इजरायल), उदयराज पाण्डे (मलेसिया), दावाफूटी शेर्पा (स्पेन), डा. निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका), नीलाम्बर आचार्य (भारत), लोकदर्शन रेग्मी (बेलायत)लाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

ओमानकी राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई ओली नेतृत्वको सरकारले अर्को नियुक्ति नभएसम्म म्याद थप गर्दै राजदूत पदमा निरन्तरता दिएको थियो ।

तर, आज बसेको मन्त्रिपरिषद् बैठकले यी दुई राजदूतबारे केही बोलेको छैन ।

जापानी राजदूत राणा प्रधानमन्त्री शेरबहादुर देउवाकै सासु भएकीले उनीबारे के हुने भन्ने टुंगो पनि लागेको छैन ।