निर्मला पन्तको घटनामा प्रधानमन्त्री र गृहमन्त्रीको संलग्नता छ : कांग्रेस नेतृ डा. संग्रौला
मङ्सिर ६, कञ्चनपुर – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले निर्मला पन्तको घटनामा सरकार संलग्न भएकाले निर्मलाले न्याय नपाएको आरोपसमेत लगाएकी छन् । उनले प्रधानमन्त्री, गृहमन्त्री र अनुसन्धानमा संलग्न सरकारका निकायले नै घटनालाई ढाकछोप गर्न खोजेको बताइन ।
‘यो घटनामा प्रधानमन्त्री र गृहमन्त्रीको संलग्नता छ’, कांग्रेस नेतृ संग्रौलाले भन्नुभयो ‘सरकार सिहंदरबार र बालुवाटारमा बसेर अपराधीलाई लुकाउन लागि परेको छ ।’ उनले निर्मलाको न्यायका लागि आफूहरुले सदनमा आवाज उठाइरहेको बताउँदै सदन र सडक दुवै तताउन आफू ‘निर्मलाका लागि न्याय र भावी योजना’ अभियानमा निस्किएको बताइन् ।
‘हामी अहिले निर्मलाको न्यायका लागि आम नागरिकलाई आन्दोलनका लागि आह्वान गर्दै एउटा अभियानमा हिँडेका छौ’, उनले भनिन् ‘त्यसका लागि सुदूरपश्चिमका सबै जिल्लामा आम नागरिकसँग भेटघाट, छलफल गर्दैछौँ । उहाँहरुलाई फेरि पनि आन्दोलनका लागि आह्वान गर्छौँ ।’ १२ औं दिनदेखि निर्मलाको न्यायका लागि अनिश्चितकालीन धर्नामा बसेका पीडित परिवारसँग एेक्यबद्धता जनाउँदै नेतृ संग्रौलाले निर्मलाको न्यायका लागि सबैले एकपटक फेरि लाग्नुपर्ने बताइन् ।