मन्त्री बन्नेहरुको लिस्टबाट रातारात रामकुमारी झाँक्रीको नाम काटियो

मंगलबार, १२ असोज २०७८

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक डाकी दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएका छन् । उक्त अध्यादेश राष्ट्रपतिले प्रमाणितसमेत गरिसकेकी छन् ।

उक्त अध्यादेश फिर्ता भएसँगै मन्त्रिपरिषद विस्तारको काम अगाडि बढाउने तयारी सत्ता गठबन्धन छ । सोमबारको मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता गरेको हो ।

अध्यादेश फिर्ता भएपछि मन्त्रिपरिषद विस्तारको काम अगाडि बढ्छ। तर, यसो हुँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सकसका दिन सुरु हुनेछन्। उनले कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने विषयमा तनाव झेल्नुपर्ने हुन्छ।

एमाले विभाजनअघि केपी शर्मा ओलीको पक्षमा खुलेका प्रेमकुमार आले र कृष्णकुमार श्रेष्ठ (किसान) मन्त्री बन्नका लागि खुट्टा उचालेर बसेका छन्।

यी दुई ति पात्र हुन् जो पार्टी विभाजन नभई नै बालुवाटार पुगी प्रधानमन्त्री देउवासँग मन्त्री मागेका थिए।

उता मन्त्री नभई नहुने मागमा रहेकी रामकुमारी झाँक्रीको साख पनि जोगाइदिनुपर्ने अध्यक्ष नेपाललाई तनाव छ। पार्टी पदाधिकारीमा सचिवको जिम्मेवारी दिएका नेता नेपालले झाँक्रीलाई सचेतक पदमा थन्क्याउने तयारी गरेका छन्। उनको नाम मन्त्रीको लिस्टबाट हटाएर उपसभामुख बनाउने सम्भावना समेत छ ।

बाहिर मिडियामा आएजस्तो मन्त्रीको नाम फाइनल भइ नसकेको श्रोतले बतायो । सरकारमा भने महासचिव बेदुराम भुसालको नेतृत्वमा ६ जना पठाउने तयारी गरेका नेपाललाई मन्त्री कस–कसलाई बनाउने भन्ने सकस छ।

पदाधिकारीमा नपरेका विरोध खतिवडालाई अनिवार्य रुपमा सरकारमा पठाउनुपर्ने बाध्यता नेपालसँग छ।

‘अध्यादेश फिर्ता नभई न एकीकृत समाजवादी पनि फुट्ने चरणमा पुगेको थियो। जसपाको हालत त्यहि थियो। मन्त्री छान्ने कुरामा यी दुई दलको किचलोका कारण अध्यादेश फिर्ता गर्नैपर्ने भन्ने भयो’, स्रोतले भन्यो,‘त्यसो हुँदा पनि किचलो साम्य नहुने अवस्था छ। तनावचाहिँ माधव नेपाललाई छ।’

उसो त यता विरोध खतिवडाको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा सहभागी हुने चर्चा पनि छ। खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आले, किसान श्रेष्ठ र जीवनराम श्रेष्ठ मन्त्री बन्ने पक्का भएको स्रोतको दाबी छ।

अध्यक्ष नेपालले सांसदहरूसँगको छलफलपछि मन्त्रीहरुको नाम तय गरेको खबर छ । ‘मन्त्रीहरुको नाम छनोट भइसकेको छ, सबैको नाम अध्यक्षसँग छ। सम्भवतः आजै वा भोलि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनु हुनेछ,’ एक नेताले भने।